काठमाडौं, २५ असोज — सन् २००५ मा लन्डन मेट्रो स्टेसनमा विस्फोटको षड्यन्त्र रचेकोमा कारावास सजाय भोगिसकेकी एक महिलाले सरकारी कमजोरीको फाइदा उठाउँदै झुट बोलेर वर्षौंसम्म ठूलठूला सरकारी पद हात पारेको खुलासा भएको छ ।
इथियोपियाकी मुलुमेबेट गिरमालाई सन् २००५ मा एक आत्मघाती आक्रमणकारीलाई सहायता गरेको र घटनास्थलबाट भागेकोमा १० वर्षको सजाय भएको थियो । जेलमा राम्रो व्यवहार देखाएपछि उनलाई सजाय घटाएर सन् २०१३ मा रिहा गरिएको थियो ।
तर जेलबाट छुटेपछि उनले झुट बोलेर सरकारी जागिर पाइन् । त्यतिमात्र नभई गिरमा काउन्सिलको उच्च पद प्राप्त गर्न सफल भइन् ।
सन् २००५ मा गिरमालाई लन्डनको मेट्रो ट्युब स्टेसन उडाउने असफल कोशिश गर्ने आत्मघाती आक्रमणकारी हुसैन ओस्मानलाई भगाएको आरोपमा दोषी ठहर गरेर १० वर्षको सजाय दिइएको थियो ।
जेल जानुअघि गिरमाले एक मोडलका रूपमा सफल करीयर बनाइसकेकी थिइन् । तर जेलबाट छुटेपछि उनले आफ्नो आपराधिक इतिहास लुकाएर दक्षिण लन्डनको साउथवार्क बरो काउन्सिलमा जागिर शुरु गरिन् ।
काउन्सिलमा अप्रेन्टिसका रूपमा जागिर शुरु गरेपछि गिरमा एकदमै छिट्टो बढुवा हुँदै गइन् । काउन्सिलको न्युजलेटरको कभर पेजमा पनि गिरमालाई फीचर गरियो ।
तर गिरमाको वास्तविकता सार्वजनिक भएपछि उनलाई पदबाट बर्खास्त गरेर छानबिन शुरु गरिएको छ ।
एजेन्सी



