न्यूयोर्कका मेयर बिल डे ब्लाजीयोले गैरकानुनी आप्रवासीलाई देशनिकाला गर्ने अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पको योजनाका कारण आफ्नो शहरका मानिसहरु त्रसित भएको बताएका छन्।

चुनावी अभियानका क्रममा डोनल्ड ट्रम्पले गैरकानुनी रुपमा बसिरहेका एक करोड भन्दा बढी आप्रवासीहरुलाई देश निकाला गर्नुपर्ने बताएका थिए।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले आपराधिक पृष्ठभूमीका करिब ३० लाख आप्रवासीलाई देशबाट बाहिर पठाउने वा थुन्ने आफ्नो लक्ष्य भएको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कयौँ ठूला अमेरिकी शहरका अधिकारीहरुले उक्त प्रस्तावको विरोध गरिरहेका छन्।

भेटवार्ता

राष्ट्रपति निर्वाचित ट्रम्पसँग भेटेपछि डे ब्लाजियोले आप्रवासीहरुलाई देश निकाला गर्नाले परिवारहरुमा विछोड निम्तिने बताए।

उनले कागजपत्र नभएका आप्रवासीहरु उनीहरुका परिवारबाट नछुटिउन् भन्नका लागि आफूले सकेसम्म सबै प्रयास गर्ने पनि उल्लेख गरेका छन्।

उनले भने, “राष्ट्रपति निर्वाचित र उनको समूहलाई बाहिर व्यक्त भइरहेका गहिरा चिन्ता र असुरक्षाबारे जानकारी दिनु एकदमै महत्वपूर्ण थियो, किनभने गलत सन्देशले घृणा निम्तिने गतिविधिलाई प्रोत्साहान गर्न सक्छ। मैले एकताको सन्देश दिनु अपरिहार्य रहेको विचार प्रष्टैसँग राखें।”

Image copyrightGETTY IMAGES
ट्रम्प टावरमा भएको भेटमा डे ब्लाजियोले न्यूयोर्क आप्रवासीहरुले असाध्यै रुचाएको शहर भएको पनि उल्लेख गरेका थिए।

चेतावनी

राष्ट्रपति निर्वाचित ट्रम्पले आपराधिक पृष्ठभूमी भएका झण्डै ३० लाख गैरकानुनी आप्रावासीलाई उनीहरुकै देशमा फिर्ता पठाउने वा जेल हाल्ने बताएका छन्।

अमेरिकी शहरहरुमा रहेका विदेशमा जन्मिएका आप्रवासीको औसत संख्या भन्दा तीन गुणा बढी त्यस्ता नागरिक न्यूयोर्कमा छन्।

यसअघि नै डे ब्लाजीयोले आप्रवासीको सुरक्षाका लागि कागजात नभएका नागरिकको विवरण शहरको तथ्यांक भण्डारबाट मेटिदिने चेतावनी दिएका थिए।

न्यूयोर्कमा हुर्किएका डोनल्ड ट्रम्पको उक्त शहर नै मुख्य थलो रहेको छ।