भारत, असोज २६ । भारतमा केही वर्षअघि भएको ‘आरुषी हत्याकान्ड’मा जन्मकैदको सजाय सुनाइएको आरुषीका आमाबुवालाई इलाहवाद उच्च अदालतले निर्दोष ठहर्याएको छ ।
सन् २००८ मा १२ वर्षीया आरुषी तलवार र उनको घरमा काम गर्ने नेपाली कामदार हेमराज बन्जाडेको हत्या भएको थियो । धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा आरुषी आफ्नै कोठामा भेटिएकी थिइन् । त्यसको एक दिनपछि हेमराजको शव आरुषीको छिमेकीको घरको छतमा भेटिएको थियो ।

सन् २०१३ को नोभेम्बर २६ मा सीबीआईको विशेष अदालतले तलवार दम्पतिलाई आफ्नै छोरी आरुषी र कामदार हेमराजको हत्या गरेको कसुरमा जन्म कैदको सजाय सुनाएको थियो ।
त्यस यता तलवार दम्पति गाजियाबादको एउटा जेल सजाय काटिरहेका थिए । हत्याको आरोप अस्वीकार गर्दै आएका उनीहरुले उच्च अदालतमा अपील गरेका थिए । उक्त अपीलमा इलाहवाद उच्च अदालतले बिहीबार तलवार दम्पतिलाई आफ्नै छोरी आरुषी र कामदार हेमराजको हत्यामा निर्दोष ठहर्याएको हो ।

अदालतलको निर्णयविरुद्ध सीवीआईले अपील गर्ने नगर्ने भने स्पष्ट नभएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
हेमराज बन्जाडे अर्घाखाँची जिल्लाकोे धारापानीका स्थानीय बासिन्दा थिए । एजेन्सी



