नखुलेको आकाश खुलेर आयो,
ऊ शायद यो बाटो भुलेर आयो

बीबीसी नेपालीमा लामो समय काम गरेका पत्रकार सुमन खरेलले कान्तिपुर टिभीमा चलाउने ‘सुमनसँग’ कार्यक्रममा गएको बिहीबारकी अतिथि कन्चन शर्मा रेग्मीले यो कविता वाचन गरेकी थिइन्। उनका कुराले धेरैको मन छोयो। पीडित महिलाको पक्षमा वेदना उर्लेर आयो। फेसबुकमा यही कविता र उनको फोटोसहितका ‘मेमे’हरु बने, सेयर भए। यो गजलको मुनि रचनाकारका रुपमा “आमा कन्चना शर्मा रेग्मी” लेखिएका सयौँ फेसबुक पोस्ट भए। तर भोलिपल्ट भने यो ‘खुल्ने’ गजलको नयाँ कुरा खुल्यो। गजलका वास्तविक रचनाकार रवि प्राञ्जलले यो १५ वर्षअघि आफूले लेखेको दावी गरे। तर कार्यक्रममा कन्चनले यो कसैको कविताका रुपमा वाचन गरेकी थिइनन्।

कार्यक्रम प्रस्तोता सुमन खरेलले मुसुमुस हाँस्दै हात हल्लाउँदै ‘कन्चन जी, लेख्नु पनि हुन्छ कविताहरु, तपाईँलाई आफ्ना मनका कुराहरु पोख्न मन लाग्छ नि हैन?’ भन्छन्।

उनी ‘हजुर’ भन्छिन्।

‘एउटा तपाईँको भावना सुनाइदिनुस् न हामीलाई आज, तपाईँले लेखेको’ सुमन खरेलले अनुरोध गरेपछि उनी हाँस्छिन् र वाचन गर्न थाल्छिन्-

नखुलेको आकाश खुलेर आयो ।
ऊ शायद यो बाटो भुलेर आयो ।

झर्यो त के भो त्यो जाइ र जुही,
यो पलास मनमा फुलेर आयो ।

न त तर्न सक्नु न डुब्न सक्नु,
यो भेल कस्तो हो उर्लेर आयो ।

उनीलाई भुल्न उठाएँ प्याला,
तर त्यो प्यालामा आँसु घुलेर आयो ।

सुमन खरेल दङ्ग पर्छन्। मुसुमुसु हाँस्दै अन्तिम सेर दोहोर्‍याउँछन्- ‘तर त्यो प्यालामा आँसु..’ कन्चन थप्छिन्- घुलेर आयो।

प्रस्तोता खरेल भन्दै जान्छन्- त्यति सिर्जनशीलता छ तपाईँमा। अझ पनि लेख्न सक्नुहुन्छ यति राम्रो…

हेर्नुस् भिडियोमा-

दावीकारिता, फ्याक्ट चेकिङ?
उनले गरेको सिर्जनशीलताको प्रशंसा व्यर्थ रहेछ भन्ने चाहिँ भोलिपल्ट यसका वास्तविक रचनाकार रवि प्राञ्जलको फेसबुक स्टायटसबाट देखियो-
ravi-pranjal

प्राञ्जलको गजलमा उनले थोरै फेरबदल गरेकी रहिछिन्- ‘पीडा भुलाउन उठाएँ प्याला’को साटो ‘उनीलाई भुल्न उठाएँ प्याला’ बनाएकी रहिछिन्। अनि गजलको अन्तिम सेयर ‘भर्खरै फुलेको फूल थ्यो रवि,आँसुको झरीमा रुझेर आयो’ चाहिँ वाचन भएनछ।

तपाईँले लेखेको सुनाउनुस् न भन्दा कन्चनले जे सुनाइन्, प्रस्तोता सुमनले त्यसैलाई पत्याए। अनि प्रशंसा गरी हाले। फ्याक्ट चेक गरेनन्। अन्ततः उनको प्रशंसा गलत ठहरियो। यो गजलमा त गीतसमेत बनिसकेको रहेछ।

यो त भयो गजलको रचनालाई लिएर उठेको विषय। के उनले कन्चनका सबै कुरा यसैगरी जे भनिन् त्यसैलाई पत्याएर यो कार्यक्रम बनाएका हुन्? हो भने यो पत्रकारिता भयो कि दाविकारिता? दावीकारिता अर्थात् जसले जे भन्यो, त्यही पत्याएर प्रसार गरिदिने। यसमा थप सोधखोज नगर्ने। कुख्यात अपराधी चार्ल्स शोभराजले पनि आफूले कसैको हत्या नगरेको र आफूलाई सिरियल किलर भन्न नहुने दावी गर्छ। तर वास्तवमा उनी सिरियल किलर नै हुन्। तथ्य र प्रमाणले त्यसै भन्छ। त्यसैले दावीकारिता गर्दा उनी हत्यारा देखिन्नन्। तर प्रमाणका आधारमा अदालतले गरेका फैसलाका आधारमा पत्रकारिता गर्दा उनी हत्यारा नै हुन्छन्।

दावीकारिता हैन भने खोज्नुपर्ने जवाफहरु

माइती छ कि छैन?
अन्तर्वार्तामा कन्चन (वास्तविक नाम रमा) ले आफ्नो माइती नभएको दावी गरेकी छिन्। त्यसो भए प्रस्तोता सुमन खरेलले पत्ता लगाउनु पर्यो – घट्टेकुलोमा बहिनीको घर छ कि छैन? मैतिदेवीको स्कूलमा सोध्ने कि त्यहाँ हिस्ट्री पढाउने उनकी दिदी हुन् कि हैनन्? विराटनगरमा बस्ने आमा हुन् कि हैनन्? अमेरिकामा भएको दाजु, डोलिडारमा काम गर्ने भाइ हुन् कि हैनन्? बानेश्वरमा मामाको घर छ कि छैन?

डिभोर्स भएको हो कि हैन?
प्रस्तोता सुमन खरेलले पत्ता लगाउनु पर्ने अर्को विषय हो- कन्चन र उनका पति मोहन रेग्मीबीच २०६८ सालमा बाजुरा जिल्ला अदालतको फैसलाले सम्बन्ध विच्छेद भएको हो कि हैन? सम्बन्ध विच्छेद भइसकेको भए उनले अन्तर्वार्तामा त्यो कुरा किन लुकाइन्?

रिह्याब बसेकी हुन् कि हैनन्?
प्रस्तोता खरेलले पत्ता लगाउनु पर्ने अर्को विषय रक्सी र तासको कुलत लागेर उनी रिह्याब बस्नुपरेको हो कि हैन भन्ने हो। रक्सीकै कुलतका कारण उनको जिउ बाङ्गिएको हो कि हैन? केही वर्षअघि हर्लिक्स सिसीमा मानाको आधारमा पाइने ठर्रा खाँदै जथाभावी हिँड्ने, घर नजाने, बाटोमा नै सुत्ने २४ सै घण्टा अत्याधिक रक्सी पिउँदै छाडा भएर हिँड्ने एउटी महिलालाई ठमेल, धोबिचौर, सानोगौचरणतिर बस्नेहरुले याद गरिरहेका हुन्थे। यो कार्यक्रम हेरेकाहरुले थाहा पाएका हुनुपर्छ, गएर सोध्नुस्, कतै तपाईँले कार्यक्रममा प्रस्तुत गरेकै व्यक्ति त हैनन्?

किन गइनन् प्रहरी र अदालतमा?
अन्तर्वार्तामा कन्चनले लोग्ने रुकुममा पोस्टिङ भएको बेला आफ्नै गहना बेचेर भए पनि उनको इच्छाविपरीत ५० हजारभन्दा बढी भर्ना खर्च तिरेर नर्सिङ पढेको भनेकी छिन्। त्यसो त उनले बागबजारको पिके कलेजबाट बीए पास गरेको पनि भनेकी छिन्। बीए पासपछि नर्सिङ पढेको भन्ने अलि नमिलेको देखिए पनि साढे चार वर्ष त उनले ओम नर्सिङ होममा डा. भोला रिजालसितै काम गरेको भनेकी छिन्। त्यस्तो स्वावलम्बी युवती कसैले घरबाट निकाल्दैमा खुरुक्क निस्कने हुन्छिन्? आफूलाई परेको अन्यायलाई लिएर महिलावादी संस्था, प्रहरी, अदालतमा किन गइनन्?

मानसिक असन्तुलन?
अन्तर्वार्तामा उनले मानसिक असन्तुलन भएकोले आफूले जागिर गर्न नसकेको दावी गरेकी छिन्। त्यसो भए उनलाई जेठो छोरो बंगलौरमा पढ्ने, इन्जिनियर भएको, टक्सन गाडी चढ्ने कुरा कसरी थाहा भयो त? जबकि घर छाड्दा जेठो छोरो कलेज गइरहेको, कान्छो स्कूल गइरहेको भनेकी छिन्।

टक्सन गाडी छ कि छैन?
अन्तर्वार्तामा उनले छोराहरु टक्सन गाडी चढेर आफू नजिकैबाट जाने तर बाबु बाबु भनेर बोलाउँदा बाइ बाइ गरेर हिँड्ने गरेको आरोप लगाएकी छिन्। अन्तर्वार्ताको सुरुमा उनले आफ्नो बिहे २०४७ साल असार ३ गते भएको बताएकी छिन्। बिहे भएको एक वर्षपछि बच्चा जन्मिएको मान्ने हो भने सात वर्षअघि उनले घर छोड्दा जेठो छोरो जम्मा १८ वर्षको हुन्छ। १८ वर्षको छोरो इन्जिनियर र टक्सन गाडी चढेर हिँड्ने कसरी हुन्छ? फेरि रेग्मी परिवारसित परिचित त उनका पतिको निजी गाडी नै अहिलेसम्म नरहेको दावी गर्छन् त। प्रस्तोता सुमन खरेलले पत्ता लगाउनु पर्योन अब कन्चनले भने जस्तै टक्सन गाडी परिवारको छ कि छैन?

छाडेको कि आफैले छोडेको?
अन्तर्वार्तामा उनले एक ठाउँमा ‘बाटोको थुप्रोमा छाडिदिनुभयो, दोबाटोमा न यताको बाटो जानु न उताको’ भनेका छन्। प्रस्तोताले ‘कसले तपाईँलाई बाटोको उसमा ल्याएर छाड्दिनुभो’ भनेर सोध्दा भने उनले ‘म आफै आएँ सुमन भाइ’ भनेका छन्। उनलाई पतिले बाटोमा छोडेको कि उनी आफैले घर छाडेर हिँडेको?

यदि थप सोधखोज नगरी दावीकारिता मात्रै गरिएको हो भने र यो गलत रहेछ भने यसरी सामाजिक सञ्जालमा भइरहेको गालीगलौज र अपमानको जिम्मेवार को हुन्छ? माथिका प्रश्नसँगै अनुत्तरित कयौँ प्रश्नको जवाफ सुमन खरेलले नै दिनुपर्छ किनभने उनकै कार्यक्रमका कारण फेसबुकमा बाबु र छोराहरुलाई गाली बर्सिएको छ

के भन्छन् पति?
पति मोहन रेग्मीले आफ्नो फेसबुकमा सबै कुरा थाहा पाएर मात्र प्रतिक्रिया दिन र आफ्ना छोराहरुको कुनै गल्ती नभएको बताइरहेका छन्। तर मान्छे एकोहोरो गाली बर्साउनमा नै व्यस्त छन्।
mohan2

mohan1

mohan

फरक विचार
दोहोरो कुरा नसुनी एकोहोरो गाली बर्साउनेहरुको भिडमा केही फरक विचार पनि आएका छन्। ती मध्ये केही हुन्-

युट्युब भिडियोको कमेन्ट

युट्युब भिडियोको कमेन्ट

kanchan

के भन्छन् सुमन खरेल?
सुमन खरेलले शनिबार राति फेसबुक पोस्ट गर्दै आफूले एकपक्षीय कार्यक्रम प्रस्तुत गरेको घुमाउरो भाषामा स्वीकार गर्दै अर्को कार्यक्रममा परिवारका कुरा सुन्ने् प्रयत्न भइरहेको बताएका छन्। तर त्यतिन्जेल यदि गल्ती भएको हो भने सामाजिक सञ्जालबाट परिवारले ठूलै अपमान र मानसिक तनाव भोगिसकेको हुनेछ। प्रस्तोता खरेलले ‘परिवारका सदस्यहरुलाई कहिं कतैबाट पनि गाली, अपशब्द र अपमान नगरी दिनु हुन दुई हात जाेडी बिनम्र अनुराेध’ पनि गरेका छन्।
suman

पतिले आज खोल्ने कुरा
यसैबीच शनिबार राति अबेर पति मोहन रेग्मीले आफ्नो स्पष्टिकरण मिडियाबाट भोलि (आइतबार) दिने फेसबुकमा लेखेका छन्-
media

यस्तो थियो कार्यक्रम

कार्यक्रम हेर्नुभएको भए याद गर्नुभयो होला। कार्यक्रमभित्र एउटा संस्थाको प्रचार पनि छ। आँसु र भावनामा बग्ने नेपाली समाजको सत्य थाहा पाएर त्यहीँबाट यो नाटक मञ्चन भएको नहोस् भन्ने कामना। यसअघि पनि क्यामेरामा रोएर देखाएपछि उर्लिएर मान्छे पछि लागेका उदाहरण छन्। दुई पक्षबीचको सत्य र तथ्य थाहा पाएर मात्र प्रतिक्रिया दिउँ। दोषी हो भने जोसुकै होस्, कानुन अनुसार सजाय दिउँ, मिडियाबाट आफै अपराधी घोषित गरी आफै सजाय दिने (मिडिया ट्रायल) नगरौँ।

My sansar.com बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय