काठमाडौं, कात्तिक १८
तनहुँ क्षेत्र नम्बर एकबाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशी सहित ५ जनाको मनोनयन निर्वाचन आयोगले रद्द गरेको छ । मुलुकभर ५ जनाको उम्मेदवारी रद्द गर्दै सम्बन्धित मूख्य निर्वाचन कार्यालयले आज उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
भ्रष्टचारसम्बन्धी मुद्दा किनारा नलागेको भन्दै कांग्रेस बरिष्ठ नेता समेत रहेका सोही क्षेत्रका उम्मेदवार रामचन्द्र पौडेलले दिएको उजुरीका आधारमा आयोगले जोशीको उम्मेदवारी रद्द गरेको हो । जोशीलाई विशेष अदालतले २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै ४ करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद फैसला सुनाएपनि उहाँले पुनरावेदन दिनुभएको थियो । जिल्ला निर्वाचन कार्यालयले जोशी सम्बन्धमा निर्णय गर्ने अधिकार दिएपछि केन्द्रिय कार्यालयले काठमाठौंमा सो निर्णय गरेको हो ।
ललितपुर निर्वाचन कार्यालयले भने बाम गठबन्धनबाट क्षेत्र नम्बर एकमा उम्मेदवारी दिएका पूर्व डीआईजी नवराज सिलवालको उम्मेदवारी कायम राख्ने निर्णय गरेको छ । यस्तै रौतहटका भोजेन्द्र ठाकुर लोहार, कास्कीका टीकाराम पंगेनी, नवलपरासी पश्चिमका ऋषिराम पौडेल र मोरङका नसरुल मियाँको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ । उनीहरु विरुद्ध आधिकारिकता, बहुविवाह लगायत उजुरी परेका थिए ।
उजुरी उपयुक्त नभएको भन्दै सिलवालसहित सिराहाका दिलिपकुमार साह, सर्लाहीका राजकुमार राय र सुनसरीका देवकर्ण पौडेलको मनोनयन कायम राखिएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । दोस्रो चरणमा आगामी मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्ल्लामा प्रत्यक्ष तर्फ गत बिहीवार मनोनयन दर्ता भएको थियो । मनोनयन दर्ता गरेका ४ हजार ७ सय ८ मध्ये ५ जनाको मनोनयन खारेज भएको हो । उम्मेदवारी दिएका मध्ये ९ जनाबिरुद्ध हिजो उजुरी परेको थियो ।



