काठमाडौं, ६ मंसिर । कान्तिपुर टेलिभिजनको ‘सुमन सँग’ कार्यक्रमलाई दिएको अन्तर्वार्ताले विवादमा छिन्, कञ्चन शर्मा रेग्मी । पति र छोराहरुलाई लगाएको आक्षेप र पतिको खण्डनले उनी अलोचनाको तारो बनेकी छन् । त्यसमा पनि फोहोरको थुप्रोबाट उद्दार गरियो भन्ने कपोकल्पित भनाइले उनलाई उद्दार गर्ने पवित्र समाज सेवा नेपालकी अध्यक्ष दीक्षा चापागाई पनि निशानामा परेकी छन् । उनलाई उद्दार गर्ने संचारकर्मी चन्दा थापाले कञ्चनलाई सफा सडकपेटीबाट उद्दार गरेको कुरा सप्रमाण प्रस्तुत गरेपछि धेरैले दीक्षामाथि ‘टिभीमा कञ्चनलाई झुटो बोल्न लगाएको’ आरोप समेत लगाइरहेका छन् ।

यी सबै आरोपको दीक्षाले भने खण्डन गरेकी छन् । कञ्चनलाई तपाईंले सिकाएर अन्तवार्ता दिन पठाउनुभएको हो ? भन्ने दैनिक नेपालको प्रश्नमा दीक्षाले भनिन्– ‘पीडित महिलालाई मैले कहाँ सिकाउनु ! मैले किन सिकाउने ? केही सिकाएको छैन् । झुट्टा आरोप हो । एक्कासी कान्तिपुरले फोन गरेर कञ्चन शर्मालाई लिएर आउनु भनेको थियो । ल्याण्डलाइनबाट फोन गरेको थियो । म र भाई कञ्चन दिदीलाई लिएर कान्तिपुर गएका हौँ ।’ तर, सामाजिक सञ्जालमा आफूलाई समेत नानाभाँती टिप्पणी गरिएकोमा निराश लागेको उनले बताइन् ।

कञ्चनले बोलेको कुराको प्रष्टीकरण दिने काम आफ्नो नभएको उनले बताइन् । ‘कञ्चन दिदीले भनेका कुरा उनका नितान्त व्यक्तिगत हुन् । मानवीय कर्तव्य सम्झेर मैले सहयोग गरेको हुँ । जो बेवारिसे हुन्छ, त्यसको सेवा गर्ने मेरो कर्तव्य नै हो । र, गरिहन्छु । मोहन रेग्मी (कञ्चनका श्रीमान) पनि सडकमा भेटिएका भए त्यसैगरी उद्दार गर्थें ।’

साउनमा आफ्नो आश्रममा आएपछि कञ्चन तीन पटक आश्रम छाडेर गएको बताउँदै दीक्षाले भनिन्– ‘मानसिक समस्या छ कि भनेर पाटन हस्पिटल लगेँ । खासै समस्या नदेखिएपछि केही दिन औषधि खाइन् । त्यसपछि सुधार आयो । आफै नुवाईधुवाई गर्न थालिन् । दुःखसुखका कुरा गर्न थालिन । त्यही सिलसिलामा कान्तिपुरले कार्यक्रममा बोलाएको हो ।’

कञ्चनले झुटो बोलेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको प्रसंगमा आफूलाई केही पनि थाहा नभएको दीक्षाले प्रतिक्रिया दिइन् । ‘कञ्चन दिदीको अबस्था अहिले ठीकै छ । उनलाई गाली दिएको थाहा छैन् । कञ्चन दिदीलाई उनको परिवारले माफ गरिदिनुपर्छ । श्रीमान–श्रीमतीको कुरालाई लिएर आरोप प्रत्यारोप गर्नुभन्दा पनि उनलाई गासबास कपासको व्यवस्था गरिदिनुपर्छ ।’

आफूले अझै धेरै ‘कञ्चनहरु’को उद्दार गर्न बाँकी रहेको भन्दै दीक्षाले आफूलाई अनावश्यक नमुछ्न आग्रह गरिन् । आफ्नो आश्रममा कन्चन जस्ता अन्य बेसहारा महिला तथा बालबालिकाहरु रहेको उनले बताइन् ।

दैनिक नेपाल  बाट सभार गरिएको ।

हेर्नुस् दिक्षा चापागाइन सग का कुरा हरु ए.बि.सि न्युज ले लिएको अन्तर्वाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय