
प्रदेश नम्बर १
आचार्य र राई दाबेदार
एमाले सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री शेरधन राई मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । आचार्यले सुनसरी १ (ख) बाट उम्मेदवारी दिएका छन् । त्यस्तै,पूर्वमन्त्री शेरधन राई भोजपुर (क) बाट उम्मेदवार छन् ।
प्रदेश नम्बर २
संयोजक र सहसंयोजक दुवै दाबेदार
स्थायी समिति सदस्य तथा पार्टी प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरी दुवै प्रदेश सभामा उम्मेदवार छन् । मण्डल सप्तरी १ (क) बाट तथा चौधरी पर्सा ३ (क) बाट उम्मेदवार छन् । एमालेले मुख्यमन्त्री पाएको अवस्थामा उनीहरू नै प्रमुख दाबेदार हुन् । यद्यपि, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच यो प्रदेशमा मुख्यमन्त्री माओवादीलाई दिने अनौपचारिक छलफल चलेको स्रोतको दाबी छ ।
प्रदेश नम्बर ३
उपाध्यक्षसहित पाँच नेता दाबेदार
यो प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित पाँचजना पोलिटब्युरो सदस्य मुख्यमन्त्रीका दाबेदार छन् । पाँचैजनाले आफूलाई सम्भावित मुख्यमन्त्रीका रूपमा सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । शाक्य काठमाडौं ८ (ख) बाट उम्मेदवार बनेकी छिन् । उनी प्रदेश सभामा उम्मेदवार बनेकामध्ये सबैभन्दा उच्च तहकी नेतृ हुन् ।
त्यस्तै, दुईपटक पोलिटब्युरो सदस्य भइसकेका पशुपति चौलागाईं दोलखा, राजेन्द्रप्रसाद पाण्डे धादिङबाट उम्मेदवार छन् । अर्का पोलिटब्युरो सदस्य अरुण नेपालले सिन्धुपाल्चोक तथा वैकल्पिक पोलिटब्युरो सदस्य सानु श्रेष्ठ काठमाडौं २ बाट प्रदेश सभामा उम्मेदवार छन् । चौलागाईंलाई शीर्ष तहमा भावी मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमतिपछि प्रदेश सभामा उठाइएको स्रोतले जनाएको छ ।
प्रदेश ४
सचिवदेखि स्थायी समिति सदस्यसम्म दाबेदार
प्रदेश नम्बर ४ बाट एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार हुन् । पृथ्वीसुब्बा लमजुङ र किरणले तनहुँबाट प्रदेश सभामा उम्मेदवार छन् । दुवैले मुख्यमन्त्रीका रूपमा प्रदेश नम्बर ४ लाई ‘पर्यटन हब’का रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन् ।
प्रदेश ५
शंकर पोखरेल प्रमुख दाबेदार
प्रदेश नम्बर ५ बाट एमालेबाट स्थायी समिति सदस्य शंकर पोखरेल र वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ चौधरी मुख्यमन्त्रीका दाबेदार छन् । पोखरेलले दाङ २ (ख) बाट र चौधरी परासी २ (ख) बाट प्रदेश सभामा उम्मेदवार छन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई प्रतिनिधिसभामा उठाउनुपर्ने भएपछि पोखरेललाई अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासनका साथ प्रदेश सभामा उठाएको स्रोतले जनाएको छ । सम्भावित मुख्यमन्त्रीका रूपमा उनले प्रदेशको समग्र विकासबारे पूर्वाधार, यातायात, पुँजी परिचालनलगायत १० वटा मुख्य एजेन्डा अघि सारेका छन् ।
प्रदेश ६
प्रकाश ज्वाला र कँडेल प्रतिष्पर्धी
प्रदेश नम्बर ६ मा दुई पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र यामलाल कँडेल मुख्यमन्त्रीका दाबेदार छन् । ज्वालाले सल्यान (ख) बाट तथा कँडेलले सुर्खेत (ख) बाट प्रदेश सभामा उम्मेदवारी दिएका छन् । तर, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच यो प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने गरी छलफल चलिरहेको स्रोतले जनाएको छ ।
प्रदेश ७
थापा एकल दाबेदार
प्रदेश नम्बर ७ बाट पोलिटब्युरो सदस्य कर्णबहादुर थापा एमालेबाट मुख्यमन्त्रीमा एकल दाबेदार देखिएका छन् । बाजुराबाट प्रदेश सभामा उम्मेदवारी दिएका थापालाई उपाध्यक्ष तथा प्रदेश नम्बर ७ का संयोजक भीमबहादुर रावलले प्रदेश सरकार बन्दा थापा नै मुख्यमन्त्री बन्ने सार्वजनिक घोषणा गरिसकेका छन् ।
प्रदेश सभामा दलको नेता मुख्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालय, सचिव, एमाले
अहिले नै कुन प्रदेशमा को मुख्यमन्त्रीका उम्मेदवार तोकिसकेका छैनौँ । तालमेलका कारण पोलिटब्युरोदेखि सचिव तहसम्मका नेता प्रदेश सभामा उठ्नुभएको छ । अहिले जो चर्चामा हुनुहुन्छ, उहाँहरूमध्येबाटै मुख्यमन्त्री बन्ने हो । एमालेले जबजलाई अंगीकार गरेकाले पार्टीभित्र पनि खुला प्रतिस्पर्धा स्विकार्छौँ । भोलि प्रदेश सभा सांसद निर्वाचित भएर आएपछि प्रतिस्पर्धाबाट जो दलको नेता चुनिन्छ, ऊ नै मुख्यमन्त्रीको उम्मेदवार बन्नेछन् ।



