माओवादी नेता राम कार्की उम्मेदवार भएका झापा क्षेत्र नम्बर १ को काँकडभिट्टामा वाम गठबन्धनले गरेको सभालाई एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भए तापनि छोरा प्रकाश दाहालको निधनपछि उनी काठमाडौं फर्किए ।

ओलीले एमाले र माओवादीको एकीकरणले विकासको लहर ल्याउने बताए । आफू बन्न नभई देश बनाउनका लागि जोखिमपूर्ण यात्रा गरिरहेको ओलीको भनाइ छ । ‘अरूले दिएको किड्नी बोकेर हिँडेको ११ वर्ष भइसक्यो, ग्यारेज लगेर पार्टपुर्जा फेरफार गरेको हो,’ उनले भने, ‘मैले भ्रष्टाचार, बेइमानी गर्नु छैन, देश बनाउनुछ ।’ आफ्नो पेट चारपटक चिरिसकेको भन्दै ओलीले हाल स्वास्थ्यमा कुनै समस्या नरहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचनपछि कम्युनिस्ट सरकार बनेरै छाड्ने ओलीले दाबी गरे । कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डराइसकेको उनले बताए । ओलीले भने, ‘गठबन्धनका सबै उम्मेदवारलाई जिताइदिनुस्, उहाँहरू सबैको जिम्मा म लिन्छु ।’ ओलीले सुरेन्द्र कार्की एमालेको उम्मेदवार भएको बताए । क्षेत्र नम्बर १ मा कार्कीलाई मतदाताले जसरी पनि विजयी गराउने ओलीले विश्वास व्यक्त गरे ।

झापाका लागि ओलीका योजना

वाम गठबन्धनले जितेपछि झापामा हात्तीको प्रकोपको अन्त्य गर्ने ओलीले घोषणा गरे । सिँचाइका प्रबन्ध मिलाउनेदेखि किसानका हितमा विभिन्न काम गर्ने योजना उनले सुनाए । झापाका लागि कृषि नै प्रमुख पेसा भएको भन्दै ओलीले किसानका हितमा काम गर्ने बताए  ।नयाँपत्रिका