काठमाडौं, मंसिर १० । संघीय संरचनामा प्रतिनिधि र प्रदेश सभाको पहिलो निर्वाचन अन्तर्गत पहिलो चरणमा अहिले केही समयपछिबाट ३२ जिल्लामा मतदान हुँदैछ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

मतदान अहिले बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म जारी रहनेछ । ५ बजेभित्र मतदानस्थलमा छिरिसकेका मतदाताले मत खसाल्न पाउनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउनेछन् । स्थानीय चुनावमा जस्तै कुनै कारणबस मतदाता परिचयपत्र नभएमा नागरिकता, ७० सालमा जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा सात सय दुई उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

आयोगका अनुसार आज ३१ लाख ९१ हजार नौ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार नौ सय १९ मतदान स्थलमा चार हजार चार सय ६५ मतदान केन्द्र राखिएको छ ।