
बिष्णुप्रसाद पोखरेल
दमक/नेपाली काँग्रेसले शक्ति प्रदर्शनको रुपमा गर्ने झापा क्षेत्र नं. ५ को गौरादहमा आज भएको चुनावीसभामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक पनि केपी शर्मा ओलीको नाम लिएनन् ।
उनले के बोल्लान् ओलीको बिषयमा भन्ने धेरैलाइ चासो रहेको थियो । ओली डडेल्धुरा गएपछि देउवा झापा आउने कार्यक्रम तय भएको थियो । यस क्षेत्रका बाम गठबन्धनका उम्मेदवार समेत रहेका डडेल्धुरामा ओलीले दिएको अभिब्यक्तिको जवाफ फर्काउने अनुमान गरिएको थियो ।
देउवाले छोटो भाषण गरे कहि पनि कुनै पार्टीलाइ किटेर र ब्याक्तिलाइ किटेर बोलेनन् । उनले कम्यूनिष्टहरु भनेर मात्र बोले । न ओलीको नै नाम लिए न त प्रचण्डको नै नाम सम्झे । ओलीको बिषयमा केहि बोल्छन् जस्तो लागेको थियो र सुन्न आएको खोइ केहि पो बोलेनन् दमकका बिद्यानन्द कोइरालाले भने ।
उनले यहाँका उम्मेदवारहरुले राखेका प्रतिबद्धताहरु पुरा गर्ने जनाए । उनले शुरुमै कसैको कुरा काट्ने पक्षमा आफू नरहेको भन्दै आफ्नो भनाइ शुरु गरेका थिए । यो साता ओली र देउवा वाकयुद्धमा उत्रदै आएका थिए । तर गौरादहको चुनावीसभा त्यस्तो देखिएन ।
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौड्यालले भने शुरुमै ओलीको नाम लिएर कडा आलोचना गरे । उनले ओलीतन्त्रबाट मूलक पीडित भएको समेत बताएका थिए । उनले एमाले र माओबादी मिलेकोमा अचम्म पनि माने । उनले कम्यूनिष्ट आन्दोलनले प्रताडित भएको जिल्ला झापा भन्दै भाषण शुरु गरेका थिए ।
पूर्व सभामुख समेत रहेका पौड्यालले बाम गठबन्धन अधिनायकबाद ल्याउनका लागि बनेको भन्दै यसलाइ काँग्रेसले फूटाउने र भत्काइ छाड्ने जनाए । मक्किसकेको भन्दै टिप्पणी पनि गरे । उनले अधिकाँश समय बाम गठबन्धनको बिरोधमा नै खर्चिए ।



