
सुनसरीमा मतदाता शिक्षाकालागि खटिएका मतदाता शिक्षा स्वयंसेवक विरुद्ध पार्टीगत भोट मागेको उजुरी परेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवामा सुनसरी क्षेत्र नम्वर ३ अन्र्तगत बर्जु गाउँपालिकाको अमाहिवेल्हामा खटिएका मतदाता शिक्षा स्वयंसेवकले मतदाता शिक्षाका नाममा पार्टीगत भोट मागेको उजुरी परेको हो ।
मतदाता शिक्षाकालागि खटिएका ४ जनाले नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छेदारका पक्षमा मत मागेको भनि कार्वाहीको माग गर्दै उजुरी परेको सुनसरीका जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो । सुनसरी क्षेत्र नम्वर तीनकी उमेदवार भगवती चौधरीले उजुरी दिनुभएको हो ।
उजुरी उपर छानविन भैरहेकाले दोषी पाइए कार्वाही गरिने जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताउनुभयो । मतदाता शिक्षा परिचालकहरुले बर्जु गाउँपालिकाका अमाहीबेल्हाका सरदार टोल, ऋषिदेबटोल, पण्डित टोल, पासवान टोलका निरक्षर महिला मतदाताहरुलाई ‘गाछी’ मा भोट हाल्न भनेको पाइएको उमेदवार भगवती चौधरीले वताउनुभयो ।
वहालवाला उपप्रधान तथा स्थानीय विकासमन्त्री समेत भएको फाइदा उठाउँदै स्थानीय कर्मचारी संयन्त्र नै प्रयोग गरेर मतदातालाई आफ्नो पक्षमा पार्न लागेको नेकपा एमालेकी प्रत्यासी उम्मेदवार भगवती चौधरीको आरोप छ । ‘गच्छदार जीले निर्वाचन आचारसंहिता विपरीत राज्यसत्ताको चरम दुरुपयोग गर्दै स्थानीय कर्मचारीलाई समेत भोट माग्न खटाउनु भएको छ ।’ उहाँले भन्नुभयो ।
जिल्ला निर्वाचन आयोगको कार्यालय सुनसरीले परिचालकहरुले भोट मागेको विषयमा उजुरी नै आएकोले तत्कालै उनीहरूलाई बोलाईएको बताएको छ । भोली उनीहरुलाई लिखित स्पष्टिकरण मागिने निर्वाचन कार्यालयले जनाएको छ ।



