नेकपा एमालेका अध्यक्ष ओलीले मतपत्रको सुरक्षा गर्न एमाले र माओवादी नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चितवनको माडीमा आयोजित बिशाल चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले मतपत्र र पेटिकाबाट आँखा झिमिक्क हुन नदिन निर्देशन दिएका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“तपाईहरू सचेत हुनुहोस, मतपेटिकाबाट आँखा झिमिक्क हुन नदिनुस” अध्यक्ष ओलीले भने, “ढुक्कसँग मतदान गर्नुस, कसैले केही गर्न सकदैन, एमाले र माओवादी एक साथ छन, निर्वाचनमा केही तलमाथि गर्न खोज्नेले केही गर्न सकदैन ।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको माडीको बसंतपुरमा आयोजित सभामा अध्यक्ष ओलीले देशको स्वाभिमानका लागि, समृद्दी, विकास र लोकतन्त्रका लागि विगतका सबै कुरा बिर्सेर एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको निर्णय भएको बताए ।

“यो समृद्दीको महाअभियान हो ।” अध्यक्ष ओलीले भने, “यो अभियानमा सबै सक्रिय भएर लाग्नुस, एक दुई घंटा हैन रातदिन खटिनुस ।”

अध्यक्ष ओलीले चितवन र माडीको विकासमा आफू सधै प्रचण्डको साथमा रहने बताए । “माडीलाई चितवनको मणि बनाउने प्रचण्डजीको घोषणा छ । त्यसमा म पनि साथमा छू। ओलीले भने, “नाकाबन्दीको कठीन समयमा यो क्षेत्रले नै राजधानीलाई पालेको हो, तपाईहरू ढुक्क हुनुस, चितवन र देशको विकासको गतिलाई अब कसैले रोक्न सकदैन ।”

नेपाली कांग्रेसले प्रतिगामी राप्रपा पार्टीका उम्मेदवारलाई समर्थन गरेकोमा टिप्पणी गर्दै अध्यक्ष ओलीले आम कांग्रेसका कार्यकर्तालाई अग्रगमनको पक्षमा मत दिन अनुरोध गरे ।

“तपाईहरुलाई लोकतन्त्रको चिन्ता छ, समृद्दीको चिन्ता छ, विकास र जनताका समस्याको चिन्ता छ भने तपाईको पार्टीले चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवार नउठाएकोमा दुःख नमान्नुस, तपाईका सबै अपेक्षा हामी पूरा गरछौ, धक नमानी भोट दिनुस ।”