
झापा । झापामा मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन मतगणना स्थलमा तारजाली र सिसि क्यामेरा जडान गरिदैछ । दलका प्रतिनिधिले मतपत्र च्यात्ने र खाने जस्ता घटना बढेर मतगणना स्थलमा विवाद उत्पन्न हुन थालेपछि सोही घटनालाई मध्यनजर गर्र्दै जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त बैठकले यस्तो निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
बैठकको निर्णय अनुसार नै झापाका मतदान स्थलमा तारजाली र सिसि क्यामेरा जडान गरिदैछ, प्रजिअ तिवारीले बताए । यसअघिको स्थानीय तह निर्वाचनको मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिएपनि तारजाली लगाएको थिएनन । झापामा ताराजाली लगाएको पहिलो पटक हो । जिल्ला स्काउटमा रहेको झापा क्षेत्र नम्बर ४ र जिल्ला शिक्षा कार्यालयमा रहेको क्षेत्र नम्बर २ मा ताराजाली लगाइसकिएको छ । सिसि क्यामेरा जडान कार्य भइरहेको छ । क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको दुई स्थान र प्रदेश सभाको १ र २ सँगै गणना हुने भएकोले चारै वटा कोठामा तारजाली लगाइएको क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत प्रेम खड्काले बताए । त्यस्तै जिल्ला समन्वय समितिको कार्यालय भवनमा रहेक मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ र निर्वाचन कार्यालय क्षेत्र नम्बर १ मा बाँसको घेराबारा लगाइएको छ । जिल्ला हुलाक रहेको क्षेत्र नम्बर ५ मा पनि ताराजाली लगाउने कार्य हुदैछ । मतगणना स्थलमा कुनै किसीमको आक्रमण नहोस भन्ने उदेश्यले तारजाली र घेरावारा लगाउने पूर्व तयारी सुरु गरिएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताए । मतदाताले दिएको मतलाई सुरक्षीत गर्नु हाम्रो दायित्व भएको र सुरक्षा सवैको लागि भएकोले घेरावारा गरिएको उनले थपे । यता सुरक्षित तवरवाट मतगणना सम्पन्न गर्नका लागि भन्दै सुरक्षा व्यवस्था कडा पारिने छ । मतगणना स्थलमा मोवाइल प्रतिबन्ध लगाउनुका साथै र राजनीतिकदलले तोकेको प्रतिनिधि, उम्मेदवार बाहेक कसैलाई प्रवेश गर्न दिइने छैन ।
एकद्धार प्रणालीबाट सूचना प्रवाह
झापाका पाँचै वटा निर्वाचन अधिकृतको कार्यालयले एकद्धार प्रणालीबाट मतगणनाको सूचना प्रवाह गर्ने तयारी गरेको छ । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको परिणाम सार्वजनिक गर्न एक÷एक जना सूचना अधिकारी समेत तोकिसकेको जनाइएको छ । मतगणना परिणाम प्रत्येक घण्टामा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए । यता मतगणना परिणामको समाचार संकलनमा खटिने पत्रकारलाई जिल्ला प्रशासन कार्यालय झापाले आन्तिरीक राजश्वक कार्यालय मेचीको भवन उपल्बध गराउने भएको छ । पत्रकारका लागि सूचना डेक्स त्यही कार्यालयमा राखिने र त्यसका लागि इन्टरनेट समेत उपल्बध गराइने प्रशासन कार्यालय झापाले जनाएको छ ।



