फिलिपिन्सकाे उत्तरी क्षेत्रमा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस सोमबार दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। क्रिसमस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० व्यक्ति रहेको उक्त बस विपरीत दिशाबाट आएको अर्काे बससँग ठोक्किँदा दुर्घटना भएको हो।
आगी शहरमा क्रिसमस मनाउन चर्चतर्फ गइरहेको मिनीबसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन्। मिनी बसमा रहेका २० जनाको मृत्यु भएको फिलिपिन्सकाे उच्च प्रहरी श्राेतले पुष्टि गरेकाे हाे।
उक्त घटनामा ज्यान गुमाउनेमा ६ बालबालिका रहेका छन्। मिनी बसका नौ जना र ठूलो बसका १७ व्यक्ति घाइते भएका क्षेत्रीय प्रहरीले दिएको पछिल्लो जानकारीमा जनाइएको छ।

फिलिपिन्सको आगी सहर राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरीतर्फ रहेको बताइएको छ। फिलिपिन्समा दावाओ सिटीमा शनिबार एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको थियो। त्यसलगत्तै आज साेमबार यो अर्काे दुर्घटना भएको हाे।
शुक्रबार आएको ‘टेम्बिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या २ सय ४० पुगेको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। उक्त प्रकोपको पनि खतरा नघटेको बताइएको छ।
फिलिपिन्सको दोस्रो ठूलो टापूका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या सोमबार २४० नाघेको अधिकारीहरुले जनाएका हुन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार अझै पनि सयौं व्यक्ति बेपत्ता छन्। उक्त आँधीमा परी बेपत्ता रहेका दर्जनौं व्यक्ति अब भेटिने सम्भावना कमै रहेको पनि अधिकारीहरुले जनाएका छन्।यस आँधीका कारण ५० हजारभन्दा बढी सर्वसाधारण घाइते भएका छन्। सयौं घर ध्वस्त भएका तथा कतिपय त गाउँ नै बाढीले बगाएको पनि जनाइएको छ।
यसरी गएको शुक्रबारदेखि फिलिपिन्समा आएको निरन्तर रुपमा प्राकृतिक प्रकोप र दुर्घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि दुःख व्यक्त गरेका छन्।



