सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउन आदेश दिएको छ।
डा गोविन्द केसी विरुद्धको अवहेलना मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो।
‘सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत झिकाउनू।’
सर्वोच्चमा बयानका क्रममा डा केसीले पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि प्रश्न उठाएका थिए। सर्वोच्चले प्राडा शशि शर्मालाई चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा पुनर्बहाली गर्न पराजुलीसमेत सम्मिलित इजलाशले गरेको फैसलासमेत झिकाउन आदेश दिएको छ।
शर्मालाई पुनर्बहाली गर्ने फैसलासँगै प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै डा केसी सोमबारदेखि अनसन बसेका थिए। अनसनका क्रममा दिएको अभिव्यक्तिले अदालतको मानहानि भएको भन्दै अदालतको आदेशमा प्रहरीले शिक्षण अस्पतालबाटै केसीलाई पक्राउ गरेको थियो। मंगलबार उनको अदालतमा बयान भएकोमा बुधबार दुवै पक्षका अधिवक्ताहरुले बहस गरेका थिए।


भिडियो



