एमाले र माओवादीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, मुख्यमन्त्रीमा भागबन्डा गरेका छन् ।
दमक/राष्ट्रिय सभाको निर्वाचनका लागि आज सातै प्रदेशमा उम्मेदवारी मनोनयन हुँदैछ । बुधबार अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । राष्ट्रिय मान्यता प्राप्त पाँच दल एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट छनोट गरेका उम्मेदवारले आज उम्मेदवारी मनोनयन गर्दैछन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना प्रत्यक्ष निर्वाचनबाट र तीनजना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । माघ २४ गते निर्वाचन भएको केही दिनमै राष्ट्रिय सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुनेछ । लगत्तै तीनजना सदस्य राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभाले पूर्णता पाउने छ ।
राष्ट्रिय सभाको निर्वाचनपछि संघीय संसद्ले पूर्णता पाउने र नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ । एमाले नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने करिब करिब निश्चित जस्तै छ । एमाले र माओवादीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, मुख्यमन्त्रीमा भागबन्डा गरेका छन् ।
एमालेले राष्ट्रपति, प्रधानमन्त्री पाउने छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष पाउने स्रोतले बताएको छ । माओवादीले राष्ट्रिय सभाको अध्यक्ष पाएमा रामबहादुर थापा बादललाई उठाउने तयारी गरेको छ । माओवादीले पार्टी एकताबारेको छलफलमा राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरे पनि विद्यादेवी भण्डारीले पुनः दोहोरिने मनसाय देखाएपछि बादललाई राष्ट्रिय सभाको अध्यक्ष बनाइने बताइएको छ ।
बादलले प्रदेश नम्बर ३ को ललितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार राष्ट्रिय सभा उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । थापा वाम गठबन्धनको तर्फबाट राष्ट्रिय सभाका लागि प्रदेश नम्बर ३ बाट खुलातर्फबाट सदस्यका उम्मेदवार हुन् । एमालेले युवराज ज्ञवालीलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरेको थियो । तर, ज्ञवालीले आफू उम्मेदवार नबन्ने बताएपछि वाम गठबन्धनबाट राष्ट्रिय सभाको अध्यक्षमा बादल बन्ने प्रबल सम्भावना छ ।



