भारतको एक विद्यालयको प्रधानाध्यापिकाले १३ जना विद्यार्थीहरुलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाएर दण्ड दिएको खुलासा भएको छ । भारतको पूर्वी प्रान्त झारखण्डको एउटा निजी विद्यालयमा बुधवार यो घटना भएको थियो। ती प्रधानाध्यापिका सुशान्ती हेमब्रोमले ९ बर्षका ती विद्यार्थीहरुमध्ये कसले कक्षाको अर्को सहपाठीबाट पैसा चोरेको थियो भनेर पत्ता लगाउने प्रयासमा यस्तो कुकर्म गरेकी थिइन्।
उनीहरुमध्ये केहिले तत्कालै आफ्नो हात हटाएको भएपनि ७ जनाको हात जलेर घाउ लागेको छ। सबै विद्यार्थीहरुले शिक्षिकाले भनेजस्तै जलिरहेको मैनबत्तीमाथि आफ्ना हात राखेका थिए। ती मध्ये एक जना विद्यार्थीलाई अस्पतालमा भर्ना गर्नु परेको थियो। ती विद्यार्थी बिहीवार अस्पतालबाट फिर्ता भएको छ।
त्यसको भोलिपल्टै विद्यार्थीका अभिभावकले गुनासो गरेपछि उनलाई निलम्बन गरिएको थियो। प्रहरीले ती प्रधानाध्यापिकाले आफ्नो गल्ती स्वीकार गरेको जनाएको छ। विरूद्ध उजुरी दर्ता गरेका छन् प्रहरीले दिएको जानकारी अनुसार ती शिक्षिकाले दोषी विद्यार्थीले डरले आफ्नो गल्ती स्वीकार गर्लान भनेर त्यसरी दण्ड दिएकी थिइन्।
उनले आफूबाट ठूलो भुलु भएको स्वीकार गर्दै विद्यार्थी तथा उनीहरूका अभिभावकसँग माफी मागेकी थिइन्। भारतका विद्यालयहरुमा विद्यार्थीहरुलाई कडा शारीरिक दण्ड दिन प्रतिबन्ध लगाइएको छ। तर विद्यार्थीहरुलाई त्यस्ता दण्ड दिने घटना त्यहाँका लागि नौला होइनन्।
अझ कतिपय स्थानमा त विद्यार्थीहरुलाई नाङ्गो बनाएर समेत सजाय दिने गरिन्छ।
मार्च २०१७ मा उत्तर प्रदेशको एउटा विद्यालयले महिनावारीका क्रममा निस्कने रगत जाँच्न भन्दै ७० जना १० वर्षका छात्रालाई एउटा आवासीय विद्यालयमा नग्न हुन लगाएको थाहा पाएपछि अभिभावकहरु स्तब्ध भएका थिए।



