ताइपेह- ताइवानमा गएराति गएको शक्तिशाली भुकम्पका कारण २ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुका अनुसार हालसम्म २ सय भन्दा बढी घाइते भएका छन्।
स्थानीय समयअनुसार मंगलबार राति ११ः५० को समयमा ६.४ म्याग्निच्यूडको भूकम्पले करिब ३० सेकेण्ड हल्लाएको थियो।
ताइवानको राजधानीबाट करिब १ सय ६० किलोमिटर दुरीमा रहेको हुवालेन सहर नजिकैको समुन्द्री टापुमा भुकम्पको केन्द्र रहेको बताइएको छ।
भुकम्पको केन्द्र नजिकैको शहर हुवालेनमा बढि क्षति पुगेको छ। सो शहरमा रहेका ठुला भवनहरु, होटल तथा अस्पतालसमेत क्षतिग्रस्त भएको जनाइएको छ। उद्दारकर्ताहरुले भत्केका होटल तथा आवासिय क्षेत्रबाट हालसम्म १ सय ५० भन्दा बढिको उद्दार गरेका छन्।

भुकम्पबाट कतिपय स्थानमा घरहरु जमिनमुनि भासिएका तथा सडक पनि चिरिएको अधिकारीहरुले बताएका छन्। करिब ४० हजार घरहरुमा पिउने पानीको पाइपलाइन अवरुद्ध भएको छ। पुल तथा सडकहरु क्षतिग्रस्त भएका कारण हाललाई राजमार्गहरु बन्द गरिएको छ।
हुवालेनस्थित २ सय ७० कोठा भएको १० तले मार्सल होटलको भुइँ तला जमिनमुनि भास्सिएको छ। होटलभित्र केहि कर्मचारी तथा पाहुनाहरु रहेको आशंकामा खोजीकार्य सुरु गरिएको छ।
हालसम्म होटलबाट १ जना कर्मचारीको सकुशल उद्दार गरिएको र २ जनाभन्दा बढि भवनभित्रै फसेको अनुमान गरिएको छ।
‘होटलभित्र लाइट बलिरहेको छ। त्यकारण अझै केहि मान्छे भित्रै फसेका छन्।’, प्रत्यक्षदर्शी जिना स्टारबकले भनिन्,‘केहि मानिसहरु आफ्नो मोबाइल फोनको बत्तीको सहायताले होटलभित्र मान्छे रहे–नरहेको पत्ता लगाउन प्रयासरत छन्।’

अन्य २ जना पनि आवासिय क्षेत्रमा फसेको एक सरकारी अधिकारीले जानकारी दिए। ताइवानी सरकारले उद्दार कार्यका लागि राष्ट्रिय सेनालाई खटाएको छ।
केहि दिनसम्म सो क्षेत्रमा पराकम्पनहरु आउनसक्ने भन्दै स्थानीयहरुलाई सुरक्षित रहन सरकारले सचेत बनाएको छ।
हुवालेन सहर करिव १ लाख जनसंख्या भएको पर्यटकिया इलाका हो।
ताइवान २ टेक्टोनिक प्लेटको नजिकै रहेको राष्ट्र भएकोले त्यहाँ लगातार भुकम्पको झड्का आइरहन्छ।



