लखनपुर/ झापाको लखनपुरमा आगामी पुष २२ गतेदेखि प्रथम प्रर्वाञ्चल स्तरीय भेट्रान टुर्नामेन्ट हुने भएको छ ।स्थानीय पूर्वाञ्चल भेट्रान क्लबको आयोजनामा लखनपुर–१ स्थित आदिवासी रंगशालामा माघ २ गतेसम्म प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।प्रतियोगितामा आयोजक पूर्वाञ्चल भेट्रान क्लब, दमक–लखनपुर भेट्रान, बिर्तामोड भेट्रान, काँकडभिट्टा भेट्रान, मोरङको राजघाट भेट्रान, विराटचौक भेट्रान, युनाइटेड भेट्रान विराटनगर, सीएमजी विराटनगर भेट्रान, धरान भेट्रान र इटहरी भेट्रान क्लबको सहभागीता रहने पत्रकार सम्मेलनमा आयोजक क्लबका सचिव एकराज प्याकुलले जानकारी दिए ।पत्रकार सम्मेलनमै सार्वजनिक टाई–सीट अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुष २२ गते धरान भेट्रान क्लब सुनसरी र बिर्तामोड भेट्रान क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले नगद ३० हजार ३ सय ३३ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष प्रेम बहादुर कार्कीले बताए ।
प्रतियाागिताको तयारी तीव्र पारिएको जानकारी दिँदै मुल संयोजक शान्तकुमार राईले प्रतियोगिता सम्पन्न गर्न ९ लाखभन्दा बढी खर्च लाग्ने जानकारी दिए । प्रतियोगिताका सबै खेलहरु लखनपुर–१ स्थित आदिवासी रंगशालामा हुने राईले बताए ।
लुक–मी फेसन वेयर दमकका सञ्चालक कुष्ण कार्कीले खेल सामग्री र लखनपुरको टिकटाक केवल नेटवर्कका सञ्चालक लैनबहादुर थापाले आयोजक टिमका खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरे ।










