पहिलो भारतीय महिला सुपरस्टार श्रीदेवीको शव निधनको तीन दिनपछि मंगलबार राति मुम्बई ल्याइपुर्‍याइएको छ। भारतीय समयअनुसार साढे नौ बजे उनको शव मुम्बई ल्याइपुर्‍याइएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

उनको शनिबार राति दुबईमा होटलको बाथटबमा डुबेर निधन भएको थियो। उनको शव बोकेको प्राइभेट जेटमा बोनी कपुर, उनका पहिलो श्रीमतीका छोरा अर्जुन कपुर र बोनी-श्रीका कान्छी छोरी खुसी पनि साथै थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको शव लिन विमानस्थलमा अनिल कपुर पुगेका थिए।

श्रीदेवीका प्रशंसक, सहकर्मी र बलिउडका चर्चित कलाकारहरु उनको शव आउने प्रतीक्षामा मुम्बईस्थित उनको निवासमा प्रतीक्षा गरेका थिए

बुधबार बिहान साढे नौ बजेदेखि साढे बाह्र बजेसम्म उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र साढे तीन बजे उनको अन्तिम संस्कार गरिने उनका परिवारजनले उल्लेख गरेका छन्।

श्रीदेवीको निधन होटलको बाथटबमै डुबेर भएको पुष्टि भएपछि मंगलबार दुबई प्रहरीले यो केसको फाइल बन्द गरेको थियो।