४ पुस । युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको आज अपराह्न अज्ञात समूहले गोली हानी हत्या गरेको छ । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह–८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्तिले छातिमा गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदहस्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिनुभयो ।जिल्लाको देवदह नगरपालिका –६ खैरेनीका ४० वर्षीय तिवारी स्थानीय केविआइ इट्टा भट्टका सञ्चालकसमेत रहेका युवा व्यवसायी छन् । करिब छ महिनाअघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा तिवारीमाथि आक्रमण भएको थियो । तर, त्यतिबेला आक्रमणबाट बाचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
पहिलेको आक्रमणमा संलग्नमध्ये आठजनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको र सो समूहका नाइके मनोज राना फरार रहेका छन् ।










