चीनका नवनियुक्त रक्षामन्त्री जनरल वेइ फेङहेले रुस र चीनबीच रहेको प्रगाढ सम्बन्ध अमेरिकाले थाहा पाओस् भनेर आफू रुस मस्को आएको बताएका छन्। उनले रुसलाई आफूहरुको समर्थन रहने पनि स्पष्ट पारे।

वेइ अप्रिल ४ र ५ मा हुने मस्कोमा आयोजना गरिएको सुरक्षा सम्मेलनमा भाग लिन पुगेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘रुस र चीनको बीचमा विकसित उच्चस्तरीय सम्बन्ध र रणनीतिक सहकार्य बलियो बनाउने हाम्रो सेनाको दृढता संसारलाई देखाउन चीनको नयाँ रक्षामन्त्रीको रुपमा मैले पहिलो विदेशभ्रमण रुसको गरेको हुँ,’ उनले भने।

उनले ‘चिनियाँ र रुसी सेनाबीचको निकट सम्बन्ध अमेरिकालाई थाहा दिन’ मस्को आएको पनि बताए।

सामान्यतः कूटनीतिक भाषाको प्रयोग गर्ने चिनियाँ अधिकारीले यति खरो वक्तव्य दिनुलाई असामान्य मानिएको छ।

पछिल्लो समय पश्चिमा शक्तिहरुले रुसविरुद्ध नाकाबन्दी तीव्र बनाउँदै लगेपछि चीन र रुसबीच द्वीपक्षीय सम्बन्धमा सुधार आएको छ। दुवै शक्तिशाली राष्ट्रहरु अबको संसार बहुध्रुवीय हुनुपर्ने पक्षमा देखिएका छन् र उनीहरुले सैन्य तथा आर्थिक साझेदारी बढाउँदै लगेका छन्। संयुक्त राष्ट्रसंघमा पनि चीन र रुसले एकअर्कालाई सहयोग गर्दै आएका छन्।

यसै वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको भ्रमण गर्ने बताइएको छ। एजेन्सी