भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चेन्नइ भ्रमणको विरोधमा तमिलनाडुका एक युवकले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका छन्। बिहीबार मोदीले चेन्नइ भ्रमण गरेका थिए।

तमिलनाडुको इरोड जिल्लाका धर्मलिंगम नामक २५ वर्षे व्यक्तिले आफैँलाई आगो लगाएका हुन्। उनले आगो लगाउनुअघि आफ्नो घरको भित्तामा कावेरी पानी विवाद र मोदीको भ्रमणको बारेमा सन्देश छोडेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कावेरीको पानी तमिलनाडुका जनताको जीवन रक्षक हो। तै पनि मुख्यमन्त्री पालनीस्वामी र प्रधानमन्त्री मोदीले जल व्यवस्थापन बोर्ड गठन गर्ने कुनै पहल गरेका छैनन्। म मोदीको तमिलडानु भ्रमणको पनि विरोध गर्छु,’ उनले लेखेका छन्।

घाइते भएपछि उनलाई अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय सर्वोच्च अदालतले कावेरीको पानीमा कर्नाटकको हिस्सा बढाइदिएपछि दिनहुँ यस विषयमा विरोधप्रदर्शन हुने गरेको छ।

बिहीबार मोदीको चेन्नइ भ्रमणको विरोधमा ट्विटरमा ह्यासट्याग गो ब्याक मोदी ट्रेन्ड भएको थियो। एजेन्सी