
१४ पुस । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ११ औं दिनको पुण्य तिथिमा नेकपाका शीर्ष नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
विहिबार रुपन्देहीको देवदहमा आयोजित श्रद्धान्जलि सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले उपमहासचिवद्धय घनश्याम भुसाल र विष्णु पौडेल, पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा, युवा संघका केन्द्रिय अध्यक्ष राजिब पहारी, उपाध्यक्षद्धय राजु गुरुंग र दिलु पन्त, महासचिव किरण पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

उनीहरुले तिवारीका परिवारलाई सान्तवना सन्देश दिएका थिए । श्रद्धाञ्जलि सभामा कांग्रेस, माओवादीसहित अन्य दलका नेताहरुको पनि उपस्थिती थियो । हजारौंको संख्यामा नेता कार्यकर्ता र स्थानीय सर्वसाधारण श्रद्धाञ्जलि व्यक्त गर्न कार्यक्रमस्थल पुगेका थिए ।
पाँच नम्बर प्रदेश टुक्राउन हुन्न् भन्दै आन्दोलनको नेतृत्व गरिरहेका बेला तिवारीको घर नजिकैको बजार खैरेनीमा गोली हानी हत्या गरिएको थियो ।
दिनहुँ गोली चल्दापनि सरकार निरिह बन्योः ओली
श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले तराईमा दिनदिनै गोली प्रहार भइरहँदा, हत्या भइरहेका र धम्की दिने व्यक्ति चिनिदा पनि सरकार निरिह बनेको बताए ।
‘यहाँहरुलाई थाहा छैन् होला भर्खरै कपिलवस्तुमा दुई घण्टाअघि गोली चल्यो । प्रहरी घाइते भए । अस्पतालमा छन् । कृष्णनगरमा सीमानामा दिउँसै गोली चल्छ भन्सारमा,’ ओलीले भने– ‘अली दिनअगाडि यहीकै रुपन्देही उद्योग वाणिज्य संघका उपाध्यक्षमाथि गोली चल्यो । विभिन्न ठाउँमा टेलिफोन गरेर भनिरहेका छन् बम पड्काउँछौं, गोली हान्दिछौं । मान्छे चिनिएको छ तर, फेरि पनि सरकार निरिहजस्तो छ ।’
ओलीले राष्ट्रियताका लागि लडिरहेका योद्धालाई राजनीतिक रुपमा रोक्न नसकेपछि अराजनीतिक अपराधिक बाटो समेत अख्तियार गरिएको बताए ।
‘देशलाई अगाडि बढ्न नदिनका निम्ति, स्वस्थ राजनीतिलाई अगाडि बढ्न नदिनका निम्ति, सार्वभौम देशको रुपमा, स्वतन्त्र देशको रुपमा आफ्ना निर्णय आफै गरेर स्वाभिमानपूर्वक अगाडि बढ्न नदिने प्रयास स्वरुप यो घटना भएको हो’, ओलीले भने– ‘त्यसैगरी नेपाललाई लोकतान्त्रिक गणतन्त्रको रुपमा जनताका प्रतिनिधिले जनताका रुपमा शासन गर्ने लोकतान्त्रिक विधिबाट शासन गर्ने र राष्ट्रिय एकताका साथ देशलाई अगाडि बढाउने एकताबद्ध बनाएर देशलाई अगाडि बढाउने यस प्रयासमा र समृद्धितर्फ देश अगाडि बढाउने प्रयास स्वरुप यिनीहरुलाई असफल पार्नका निम्ति अगाडि बढ्न नदिन राजनीतिक बाटोबाटै मात्र पार लागेन भनेर अराजनीतिक अपराधिक बाटो समेत अख्तियार गरिएको छ ।’
अगाडि यस्तो छ ओलीको सम्बोधनः
यसरी विभिन्न प्रकारका अपराधिक गतिविधिहरु गराइएका छन् । देशको राजनीतिलाई देशको सामाजिक प्रणालीलाई व्यवस्थालाई अर्थतन्त्रलाई क्षविक्षत बनाउने द्वन्द्वमय बनाउने आतंकित घृणामय बनाउने त्यसप्रकारका प्रयास भइरहेका छन् । मैले धेरै भन्नुपर्लाजस्तो लाग्दैन् । यही देवदहमा ठाउँ सानो छ तर विभिन्न प्रकारका अपराधका श्रृखंलाहरु यही देवदहमा हुँदैछन् विचित्र लाग्छ ।

यो लुम्बिनी जहाँ विश्वमा शान्तिको सन्देशको दिने गौतम बुद्ध उनको जन्मघर आज २५६० वर्षदेखि बुद्धको जन्मथलो शान्तिको प्रतिक भनेर यो ठाउँ चिनिएको छ दुनियाँको आकर्षको थलोको रुपमा बनेको छ । यहाँ आफ्नै दाजुभाईलाई आफ्नै छिमेकीलाई मार्ने आतंककारी, घिनलाग्दा तत्वहरु यही जन्मिएका छन् अचम्म लाग्छ । कति दुःखको कुरा हो । नेपालाई बदनाम गर्ने तत्वहरु यस घटनामा दुर्गा तिवारीको हत्याको कुरा मात्रै होइन् हत्या त भयो त्यो मात्रै होइन् तर कुन ढंगले भयो योजनाबद्ध ढंगले षडयन्त्रपूर्ण ढंगले छानविनको रिपोर्ट आएपछि हेरौला । छानविन रिपोर्टले के भन्छ त्यसलाई सिमित गर्ने प्रयास गर्छ कि यथार्थ पत्ता लगाउँछ कि अथवा के हो त्यसको वास्तविकता त्यो हेरेर भनौला । तर, जतिबेला प्रदेश नम्बर पाँच टुक्राएर छाड्ने त्यो प्रयास भइरहेको छ त्यतिबेलै गोलीकाण्ड हुन्छ । जतिबेला जनता सडकमा आन्दोलनमा उत्रिएको छ षडयन्त्रकाविरुद्ध त्यति बेला आन्दोलन नेतृत्वकर्ता सशक्त युवामाथि गोली चल्छ र हत्या हुन्छ । यसको सम्बन्ध कतै छ कि छैन् । यहाँहरुलाई थाहा छ एक महिना अगाडि पाँच नम्बर प्रदेशका पहाड तराई छुट्याउनैपर्छ भन्ने प्रस्ताव आयो छुट्याउनुपर्छ भन्ने प्रस्ताव त आइसक्यो । अरु प्रस्ताव आउन बाँकी छ । झापा मोरङ सुनसरी पनि छुट्याउनुपर्छ । कैलाली कञ्चनपुर पनि छुट्याउनुपर्छ भन्ने प्रस्ताव त प्रस्तावको रुपमा आएकै छैन् उद्देश्य प्रकट भइरहेको छ आउनेवाला छ । पाँचनम्बर प्रदेशले सुरुमै त्यसलाई अस्वीकार गर्यो । हामीले संसदमा त्यसलाई अस्वीकार गर्यौं ।

पाँच नम्बर प्रदेशका जनतालाई म बधाई दिनचाहन्छु । तपाईहरुले यो प्रस्तावलाई अस्वीकार गर्नुभएको छ । तपाईहरुलाई ढुक्का रहन आग्रह गर्न चाहन्छु । नेकपा एमाले तपाईहरुको साथमा छ । रातरात आएको प्रस्ताव संसदबाट पास हुनेछैन् । तपाईहरुले सजगता देखाउनुभएको छ । राष्ट्रिय हितको पक्षमा उभिनुभएको छ । यही कारणले हत्याजस्ता आपराधिक गतिविधि गरेर आतंक गर्न खोजिएको छ । म सरकारलाई आग्रह गर्न चाहन्छु नियन्त्रण गर ।
दैनिक नेपाल बाट सभार




