काठमाडौँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे नेपालमा मात्रै होइन, भारतमा पनि यतिबेला चर्चा छ । भारतीय मिडियाहरूले मोदीको भ्रमणलाई विभिन्न कोणबाट हेरेका छन् । कतिपयले मोदीको आसन्न नेपाल भ्रमणलाई धार्मिक भ्रमणका रुपमा मात्र लिएका छन् भने कतिपयले नाकाबन्दीपछि नेपालसँग बढेको दूरी कम गर्ने भारतीय मौकाका रुपमा खबर लेखेका छन् ।
भारतीय नाकाबन्दीपछि चीनसँग ढल्किएको नेपालमा चिनियाँ प्रभाव कम गर्ने प्रयासका रुपमा पनि मोदीको भ्रमणलाई भारतीय मिडियाहरूले हेरेका छन् । कतिपय मिडियाले भने मोदीको भ्रमणलाई भारतको चुनावसँग जोडेर त्यहाँका मतदातालाई प्रभावित पार्ने रणनीतिका रुपमा हेरेका छन् ।
मोदी दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । जनकपुरबाट सुरु हुने उनको तीर्थाटन मुक्तिनाथ सम्म पुग्नेछ । भारतीय अनलाइन द वायरले नेपालको राजनीतिक नेतृत्वसँग विश्वासको वातावरण बनाउन मोदीले नेपाल भ्रमण गर्न लागेको उल्लेख गरेको छ । संविधान निर्माणपछि असन्तुष्ट बनेको भारतले नेपालमा नाकाबन्दी लगाएपछिको कुटनीतिक संकटका बीच उत्तरी छिमेकी चीनसँग नजिकिएको नेपाल अझै आफ्नो प्राथमिकतामा रहेको सन्देश दिने मौकाका रुपमा मोदीले भ्रमणलाई उपयोग गर्न खोजेको समाचारमा जनाइएको छ ।
त्यस्तै नेपालमा चीनको प्रभाव कम गर्ने प्रयास स्वरुप प्रधानमन्त्री भएको चौँथो वर्षमा मोदी तेस्रोपटक नेपाल आउन लागेको नवभारत टाइम्सले उल्लेख गरेको छ । धार्मिक भ्रमण भनिएपनि दुई देशबीच बढेको दूरीलाई कसरी कम गर्ने भन्नेमा प्रधानमन्त्री मोदी र ओलीले ध्यान दिने समाचारमा जनाइएको छ ।
मोदीले नेपाल भ्रमणको सुरुवातका लागि जनकपुर नै किन रोजे भन्नेमा पनि भारतीय मिडियाले विभिन्न अनुमान गरेका छन्। इन्डियन एक्सप्रेसले लेखेको छ, मोदीले जनकपुरनै रोज्नुको संकेत यो हो कि भारतले तराईको मुद्दालाई छोडेको छैन र यहाँ हालै भएका चुनावका परिणामहरूलाई खुला पनि स्वीकार गरेको छैन।
बीबीसी हिन्दीले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई त्यहाँको कर्नाटक राज्यमा हुन लागेको विधानसभा चुनावसँग जोडेर हेरेको छ । मोदी कर्नाटक राज्यमा मे १२ मा हुन लागेको विधानसभा चुनावलाई प्रभावित पार्ने उद्देश्यले नेपाल आउन लागेको दाबी बीबीसीले गरेको छ । बुधबार प्रकाशित खबरमा कर्नाटकमा विधानसभाको निर्वाचन हुने अघिल्लो दिन नेपाल आउनु र हिन्दु धार्मिक तीर्थस्थलको भ्रमण गर्नु उनको चुनावी रणनीति भएको उल्लेख छ ।
अन्नपूर्णबाट



