बेइजिङ, जेठ १ । ३२ हजार फिटको उचाईमा उडिरहेको विमानमा अचानक ककपिटको झ्यालको सिसा फुट्यो भने के होला ?

प्रश्न सम्झँदामात्र पनि धेरैको मन आत्तिन्छ । किनकि, उडिरहेको विमानमा एउटा सानो प्लालमात्र परेमा पनि त्यसले विमानको सन्तुलन बिगारेर ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर शिचुआन एयरलाइन्सको एउटा विमानको ककपिटको झ्यालको सिसा फुटे पनि पाइलटले बुद्धिमतापूर्वक सो विमानलाई सकुशल अवतरण गराएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार शिचुआन एयरलाइन्सको विमान ३ यु–८६३३ ले चोङ्गक्युङ्गबाट सोमबार ल्हासाका लागि उडान भरेको थियो । उडान भरेको एक घण्टा नबित्दै ककपिटको झ्यालको सिसा अचानक फुट्यो । त्यतिबेला विमान ३२ हजार फिटको उचाईमा उडिरहेको थियो ।

पाइलट लियु शुआनजियानले विमानमा सवार यात्रुलाई सान्त्वना दिदैं भने, ‘नआत्तिनुस्, हामी परिस्थितिलाई सम्हाल्न सक्छौं ।’

नभन्दै उनले २० मिनेटभित्रै विमानलाई विमानस्थलमा सुरक्षितसाथ अवतरण गराए ।

पाइलट लियुले भने, ‘मैले एयर ट्राफिक कन्ट्रोललाई विमानमा आएको समस्याको जानकारी गराएँ, त्यसपछि उसकै निर्देशनअनुसार काम गरेँ ।’ उक्त रुटमा एकसय भन्दा बढी उडान भरेको आफ्नो अनुभवले समेत ठूलो काम गरेको उनले बताए ।

विमानमा सवार सबै ११९ यात्रु सुरक्षित रहेको बताइएको छ । तर विमानका को–पाइलट भने सामान्य घाइते भएका छन् । (एजेन्सी)