सिओल– उत्तर कोरियाले दक्षिण कोरियालाई राजधानी सिओलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ।
उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक समेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फी रुपमा रद्द गरेको थियो। त्यसपछि अर्को बैठकका बारेमा भने केही निर्णय भएको छैन।
सिओलमा दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यास जारी रहेको छ। उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ।
दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ। तर उक्त सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ।
दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास सुरु भएको समाचार पछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ।
सो सैनिक अभ्यासले दुई कोरियाबीच गएको अप्रिल २७ मा भएको शान्ति सम्झौताको पनि उल्लंघन गरेको उत्तर कोरियाको भनाइ छ।
उत्तर कोरियाले सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठकको भविष्य माथि पनि प्रश्न चिन्ह खडा हुने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ।
गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक वार्ता र शान्ति सम्झौता भएको थियो।
उत्तर कोरियाले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गरिसकेको जनाएको छ। उत्तरले आफुले आणविक हतियार उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ।
उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने सो वार्ता गर्न दबाब दिने र उत्तरसँगको वार्तालाई कायमै राख्ने जनाएको छ। सैन्य अभ्यासको विषयलाई लिएर अमेरिकाको भने कुनै प्रतिक्रिया आएको छैन। रासस/सिन्ह्वा



