एजेन्सी । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरूलाई परिवार नियोजनको अस्थायी साधन कन्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् । देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेसनबाट कन्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा एचआईभी एड्सको संक्रामक अवस्था दू्रत गतिमा रहेकाले सुरक्षित यौन सम्बन्धका लागि कन्डम र महिला स्वास्थ्यको अवस्थामा सुधारका लागि महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम भारत सरकारले हालै मात्र पारित गरेको एक जना स्वास्थ्य अधिकारीले जनाएका छन् ।
एक सरकारी अधिकारीले भने, ‘एउटा नयाँ शौचालय नीतिअन्तर्गत भारतीय रेल सञ्चालक बोर्डले यस्तो निर्णय गरेको हो ।’ भारतको उत्तरदेखि दक्षिणसम्म फैलिएको भारतीय रेल सेवाको सञ्जाल विश्वमै सबैभन्दा ठूलो रेल सञ्जालका रूपमा रहेको लिइन्छ ।
भारतीय सबै रेल सेवाका यात्रुवाहक रेलले प्रतिदिन २ करोड ३ लाख यात्रुलाई सेवा दिने गरेका छन् । अत्याधिक मात्रामा यात्रुको चाप रहेको, भारतमा रेल सेवा कम्पनी पुराना भएको र परम्परागत तथा पुरानै सामग्री ती रेल सेवामा प्रयोग हुने भएकाले भारतमा रेल सेवामा यात्रुले ठूलो दुःख कष्ट र दुर्घटनाको सामना गरिरहनुपरेको छ ।



