भर्खरै नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौमा पनि नेपाल आउने भएका छन् । भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौंथो शिखर सम्मेलन काठमाण्डुमा गर्न प्रस्ताव गर्ने मन्त्रिपरिषदको निर्णयसँग मोदी नेपाल आउने बाटो खुलेको हो ।
मन्त्रिपरिषदको आइतबारको एउटा निर्णयसँगै भारतीय प्रधानमन्त्री मोदी र बर्माकी विदेशमन्त्री आङ सान सुचीसम्मका एसियाली नेताहरु आगामी भदौमा नेपाल आउने छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय गरेको छ ।
हाल नेपाल अध्यक्ष रहेको यो क्षेत्रीय संगठनको सदस्यको रुपमा बंगलादेश, भारत, म्यान्मार (बर्मा), श्रीलंका, थाइल्याण्ड, भूटान र नेपाल सदस्य राष्ट्रको रुपमा छन् । सार्कको अर्को सदस्य राष्ट्र पाकिस्तान भने बिमस्टेकमा सहभागी छैन ।
शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् । सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखका रुपमा रहेका राष्ट्रपति र प्रधानमन्त्रीहरु पनि नेपाल आउनेछन् । काठमाडौं टुडे बाट



