अनिल पौडेल ‘किर्ते’

नेपाली भएर बाँच्न पाउनु जस्तो सौभाग्य र नेपालमै बस्नु जस्तो दुर्भाग्य भोग्दा यो अदेश किन ‘कोलोनाईज’ भएन भनेर दुःख लाग्छ ।

जोगाए भक्ति थापाहरुले हाम्रा बलभद्र काकाहरुले अहिलेका पिचासले चुसेर डसेर हिँड्ने बनाए खरानी घसेर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पानी पठाए, सानी पठाए नदी त छानी छानी पठाए भुटेर खाए, तारेर खाए छोडाएर खाए, दारेर खाए

पीडाको थुप्रोले हिमाल छेकिँदैछ छेकिनु हुन्न भनेर लेखिँदैछ पित्को खुशी बाँकी छ………. अझै त यो अदेश नक्सामा देखिँदैछ

राजा हुँदा राजधानी थियो त्यसपछि लाजधानी भएको अहिले राजाहरुको बथान छ खोरैखोर वरिपरि उताको टालोले यता मुख छोप्ने चोरैचोर वरिपरि

पर देशले प्रदेश बनाईदियो तराइलाई मदेश बनाईदियो न स्वदेश न विदेश यो देशलाई अदेश बनाईदियो

अब रारा सुकेकेै राम्रो सगरमाथा झुकेकै राम्रो धरतीको गर्भ भित्र हे पशुपतिनाथ अब तिमी लुकेकै राम्रो

हिमाल बेच्न सकिन्न ठाउँ सार्न सकिन्न शे–फोक्सुण्डो कुम्ल्याएर पोको पार्न सकिन्न मिल्ने भए हिमाल सबै कुना पस्ने थिए पिठ्युँ यता फर्काएर अन्तै बस्ने थिए

मुल सडकमा बाढी चल्छ खोला जस्तै तरिएको छ हाँस्न त खुशी हुनुपर्छ त्यसै ङिच्च, ङिच्च गरिएको छ देशभक्त जति लाजधानीमा बस्छन् यी सबैको फोक्सोमा यो देशको माटो भरिएको छ जीवन हिँड्ने बाटो मात्र हैन रहेछ देश ढुङ्गा, माटो मात्र हैन रहेछ अनौठो लाग्थ्यो अरुले स्वतन्त्रता दिवश मनाउँदा चित्त बुझ्दो रहेनछ …….. सयौँ वर्ष अर्काको तलुवा चाट्नेले अहिले हामीलाई दास वनाउँदा

सुस्ता डुब्न तयार छ पानी पर्न थालिसक्यो बस्ती, बस्ती बढारेर पहिरो झर्न थालिसक्यो पालमा छन् जनता… भन्छन् बाच्न सकिएन… आत्महत्या गर्न सकिएन पहिरो आएर लगिदिए हुन्थ्यो… बाबु आफैँ त मर्न सकिएन

सिङ्गापुर भन्नेहरु सिङ्गै पुरिन लागे यौटा व्यक्तिले गर्दा देश त्यस्तो बन्दो रहेछ नैतिकता विनाका नेता र इमान्दारिता बिनाका नागरिक हुँदा……… देश यस्तो बन्दो रहेछ ।।