विक्रम पालुङ्वा बालुबाडी -९ झापा
बादल चाम्लिङ कृत विविध बिषयवस्तुमा लेखिएको ३८ कविताको पुस्तककार स्वरुप हो ' पाठेघर'।३८ मध्य १४ औ कविता "पाठेघर" लाई नै संग्रहको नामकरण दिईएको प्रस्तुत कविताकृतिमा जीवन यात्राका क्रममा भोगेका आफुले देखेका अनि समाज, संस्कार , संस्कृति तथा प्रकृतिका विविध रुपमा जीवनको अर्थ खोज्ने कवि बादल चाम्लिङ्का कवितामा हृदयतत्व प्रचुर मात्रामा भेटिन्छ। बिम्बात्मक शैलीमा सरलतामा जटिलता र जटिलतामा सरलता खोज्दै कोमल लयमा भावको सघन सम्प्रेषण गर्दै लेखिएका उनका कविताले मानव जीवनका तमाम सत्यलाई कलात्मक मूर्तता र अमूर्तता दिएका छन्।ग्रामीण जीवनको यादमा आफ्ना अनुभुतिलाई काव्यात्मक कलामा बाँधेकी चाम्लिङका कवितामा जीवनका अनेकन यथार्थ बिम्ब प्रशस्तै प्रतिबिम्बित भएको पाइन्छ। साँघुरो सामाजिक मूल्य र मान्यताको बन्धनमा रहेर आफ्नो जीवनलाई आफ्नो लागि भन्दापनी परिवार अझ भनु सन्तानकालागी उत्सर्ग गर्दै दु:खका पहाडहरुसँग पौठेजोरी गर्न कहिले नथाक्ने आमाको महानतम जीवनको यथार्थ बिम्बलाई अत्यन्तै कलात्मताका साथ काव्यात्मक आकारमा ढाल्न माहिरछिन उनी:- -सिमाभित्र रहिरह्यौ प्रहार सहिरह्यौ अचम्म यो समाजको धर्म तर तिम्रो आकर्षण र महानताको बिन्दु कहिल्यै झरेन बरु उकालिरह्यौ।(आमा पृ• ४) उनी आफैं पनि त्यो व्यवहारबाट गुज्रिसकेकिछिन भनौं वास्तविक भोगाईको प्रतिनिधित्व यति मिठो अभिव्यक्ति परिभाषामा अटाउन खोजे भने वा मैले परिभाषाभित्र चारैतिर शब्दका डोरीले कसे भने अन्याय गरेको मात्र ठहर्छ तसर्थ मैले यति मात्र भन्न चाँहे आमा भएपछिका त्यागका सबैभन्दा सुन्दर हरफ उल्लेखित कविता भन्दा टाढा खोज्नु पर्दैन सायद। सुर्य ज्ञानको ज्योती हो, चेतनाको सुचक हो अनि परिवर्तनको सम्बाहक हो र आशा अनि भरोसाको केन्द्र बिन्दुपनी हो त्यसैले त कवि बादल "सानो सुर्य " कविता मार्फत आशाका किरणहरुको आगमन भएको कुरा यसरी गर्छिन:- - तिमी आउनुभन्दा पहिले तिम्रो रुप कस्तो होला भन्ने भयमा थिएँ त्यो भन्दा पहिले तिमि आउछौ/ आउदैनौ भन्ने पिरमा थिएँ तिमि आयौ सिमाहिन फिजाँरिएको निको आकाशको पूर्व आशाको सिमृक छर्दै आयौ।(सानो सुर्य पृ• २४) कवितामा समाज,समय,जीवन र प्रेम जस्ता कुराहरुलाई भावको रङ्गमा घोलेर बुनेकी छिन चाम्लिङले ।उनको "पाठेघर " शिर्षकको कवितामा पाठेघरको महिमालाई स्पष्ट रुपमा यसरी चित्रण गरेकी छिन :- -दौडेर टाढा/पर पुग थाकेर रोकिने बिन्दु यहि हो उफ्रिएर आकाश छोउ झरेर टेक्ने यहि हो ............... ............... यो धर्ती मेरो पाठेघरको विस्तृत रुप हो। (पाठेघर पृ•३२) कविताको माध्यमबाट मनका बह पोख्न, चित्तका घाउमा मल्हम लगाउन र जगतसित आफ्नै भाषामा अन्तक्रिया गर्न रुचाउने भावुक कविलाई कविताको शक्तिमाथि प्रगाढ आस्था छ, ममता छ, संवेदना छ र आफ्नै पृथक् भाषा र अभिव्यक्त गर्ने शैली छ । उनको दृष्टिमा कविताका लय, भाव र दृष्टिकोण अभिव्यक्तिका अस्त्र हुन्, जसमा जीवनका विविध रङ र भाव अत्यन्त जीवन्त लयमा एकाकार भएकाछन। -कमजोर छौ सिमाभित्रै फुल्नु है भन्नू भो जीवन चिन्ने दृष्टि मसँग आफ्नै थियो सिमाभित्रै रहे सृजनाको मियो निश्चित परिधिभित्रै लगाउनु थियो।(हजुरको जीत मलाई मनपर्छ पृ• ५१) सहरी जीवनको कृत्रिम सुखभन्दा ग्रामीण जीवनको प्राकृतिक प्रेममा बाँच्न चाह राख्ने प्रकृति प्रेमी कवि बादल चाम्लिङका कविताहरुले ग्रामीण जीवनको मोहलाई पनि आत्मसाथ गरेको पाइन्छ:- -पाहुना आउँदा वल्लोपल्लो घरबाट सिरक- तन्ना, थाल- बटुका ल्याउथ्यौँ र लुकाउँदै झ्यालबाट भित्र पसाउँथ्यौँ त्यो छिमेक- प्रेम र सद्भाव सहर तिमी यो केही बुझ्दैनौँ। (गाउँ सम्झेर पृ• ५७) आधुनिक सभ्यताको चरम सीमामा समाज पुगे पनि ग्रामीण सरलता र स्वच्छताले पिघलित हृदयले बोलेको कमलो अभिव्यक्ति तथा अतितको सम्झनामा बाँचेर वर्तमान भोग्दै भविष्यकालागी गरिएका सकारात्मक परिकल्पनाको मीठो अभिव्यक्ति पनि बादल चम्लिङको कवित्वको परिचय हो। मानवीय संवेदनाको गहिरो तहसम्म पुगेर प्रेमका विविध रुपलाई टिप्दै आफू र आफ्नो अस्तित्वको आफ्नै पहिचानमा बाँच्न चाहने बादलका कविताले निराशामा पनि आशा र उत्प्रेरणा दिन सफल भएका छन्। शिक्षण पेशालाई कर्म बनाएर व्यस्त जीवनबाट बचेको सापटी समयमा नेपाली साहित्यको साधनामा निरन्तर कर्मशील कवि बादलका कवितामा जीवन छ , प्रेम छ , अस्तित्व छ ,नारी पहिचानको खोजी छ:- बाँच्नु बाहिरबाट जति अनुराग देखिन्छ भित्र निक्कै जटिल चट्टानको तह भेटिन्छ लोक अनन्तसम्म फैलिएकोछ मेरालागी संस्कार, आचारको हद-परिधी पहिल्यै तयारछ खुशी छु यति धेरै चासो हुनु म निक्कै विशेष रहेछु। (मेरो उपस्थिती पृ•७६) कवितामा कला र जीवन बाँचेका हुन्छन्। बादलका कवितामा जीवनको साकार र यथार्थ रुपका भाका पनि मिल्छन्। कलाको उच्चतम सांगीतिक मूर्च्छना पनि मिल्छन्। जब कवि हृदयमा कोमलताका राग विस्तारै बज्न थाल्छन् तब कविताले पनि कोमल लयमा आफ्ना भावको संगीत भर्न थाल्दछन्। जीवनका विविध पाटालाई समाज र समयका बेग्ला बेग्लै रुपलाई कविता बनाएर आफ्नो कवित्वको परिचय दिएकी छिन् बादल चाम्लिङले:- आधी, हुरि, टोर्नाल्डो, ज्वारभाटा आदिको पनि मातृवात्सल्यको सुगन्ध आखिर मान्छेको जस्तै पो हुदो रहेछ। (प्रेमको रङ्ग पृ•७८) हरेक व्यक्तिका आफ्नै किसिमको पहिचान र गरिमा भएजस्तै बादलको पनि आफ्नै पहिचान छ। पहिचानको खोजीमा अत्यन्त सबल तवरले लागेको वर्तमान नेपाली समाजमा सम्भवत उनका कविताले नारीत्व खोज्नु सबल पाटो हो। फरक फरक बिम्ब , फरक फरक समय तथा शैलीशिल्पगत सरसताले कविता ओजपूर्ण बनेका छन्। शैशवास्थाको जीवन र अहिलेको जीवन बीचको खुला भागमा पनि उनका कविता उभिएका छन्। अतः संसारमा सत्य र असत्य , राम्रो र नराम्रोको द्वन्द्व भएझै उनका कवितामा सबलता र दुर्बलता पनि छ। साथै कला जीवनका लागि की कला कलाका लागि भन्ने सन्दर्भमा एकरुपता छैन। कुनै कवितालाई कलाले लिपिएको छ त कुनै कवितामा जीवनको खोजी गरिएको छ। कविले हामी र हाम्रै समाजमा घटिआएका परिघटनालाई टपक्क टिपेर कवितामा जीवन्त ढंगले टाँसेकिछिन । यो उनको अर्को खुबी हो ।यी तमाम शक्ति हुँदाहुँदै पनि कविले केही कुरामा भने थप ध्यान दिनु आवश्यक देखिन्छ । आगामी दिनमा उनले कविताको परिमाणमा नभई गुणवत्तामा बढी जोड दिनुपर्ने देखिन्छ । कवि बादल चामलिङलाई "पाठेघर" को सफलताको शुभकामना।










