पत्रकार तथा अध्येता पुरीचन्द्र देवकोटाद्वारा लिखित ‘कर्णाली दर्पण’ तथ्यपरक, खोजमूलक पुस्तक हो । पुस्तकमा अध्ययनको केन्द्र जुम्ला भए पनि समग्र कर्णालीको चित्र उतारिएको छ । सिन्जा सभ्यताको उत्खनन गर्ने जमर्को गरिएको छ ।
सर्सर्ती हेर्दा जुम्ला या कर्णालीको ‘प्रोफाइल’ तस्बिरजस्तो लागे पनि पुस्तकको आद्योपान्त अध्ययनपछि यसले मुलुककै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक/धार्मिक अवस्थाबारे अध्ययन गर्न थप मद्दत पुग्नेछ । खण्ड–१ देखि ५ सम्म, खण्ड–१०, १२, १४ र १५ मा जुम्लाका विविध पक्षबारे अध्ययन गरिएको छ । खण्ड–६ देखि ९ अनि ११ र १३ मा कर्णालीको समग्र पाटाको अनुसन्धान विश्लेषण रहेको छ ।
जुम्लाको मार्सी र स्याउको स्वाद चाखेका नेपालीका लागि यो कृति त्यति नौलो नलाग्ला तर त्यो स्वाद लिन नपाएकाहरूका लागि भने यो निकै सुरुचिपूर्ण लाग्नेछ । धेरै पहिलेको कुरा होइन, चन्द्रशमशेर महाराजको पालको कुरा हो । उनलाई सुकेनास लागेको थियो रे । त्यसैले सिंहदरबार परिसरमा उनले सल्लाका रूख रोप्न लगाएका थिए— आफूलाई इलाज हुन्छ भन्ने विश्वासमा । त्यस्तै सिंहदरबारकै दक्षिणपट्टि निर्मित चोसे बुर्जामा उनी बेलुकीपखको घाम ताप्थे रे, त्यो पनि इलाजकै हेतु । त्यति मात्र होइन उनले आफ्नो रोग सन्चो हुन्छ भन्ने विश्वासमा जुम्लाबाट काली मार्सीको चामल मगाएर खान्थे रे । यो जनइतिहासकै पदचाप पछ्याउँदै आज पनि राजधानी काठमाडौँमा खाद्य संस्थानले जुम्ली मार्सीको चामल, स्याउको सुकुटी, सिमी आदि अर्गानिक खाद्य सामग्री बिक्री वितरण गर्दै आएको छ ।

समुद्र सतहदेखि करिब साढे सात हजार फिट उचाइमा अवस्थित जुम्लामा फल्ने काली मार्सी धानको चामल यातायात र सञ्चारको विकास भइनसकेको राणाकालीन समयमा कसरी राणाका दरबारमा आइपुग्थे भनी अध्येता देवकोटा लेख्छन्, ‘राणा शासकहरूको भान्सामा जुम्ली रातो चामल (मार्सी चामल) को भात पाक्थ्यो । त्यो चामल हुलाकबाट महिनौँ दिन लगाएर नियमित रूपमा काठमाडौँ आइपुग्थ्यो । कहिलेकाहीँ त्यो चामल समयमा राणाहरूको दरबारमा आइपुगेन र रोकियो भने बीचमा केही बाधा/अड्चन आइलाग्यो भन्ने जानकारी हुन्थ्यो र राज्यको तर्फबाट खोजी कार्य सुरु गरिन्थ्यो ।’ (पृ.१९५) स्वस्थ्यबर्धक खाद्य सामग्री मात्र होइन जुम्ला औषधिजन्य जडीबुटीको पनि भण्डार हो । राज्यले यसको उचित खोजबिन तथा अध्ययन, अनुसन्धान गर्न सके विकासमा कोसेढुंगा सावित हुने कुरामा दुईमत छैन ।
जुम्ला या कर्णाली क्षेत्र अर्गानिक खाद्य भण्डार मात्र होइन, नेपालका प्राय: सबै भाषाको उद्गमस्थल मानिने सिन्जा पनि जुम्लामै पर्छ । जुम्लीभन्दा हेपेको भावमा पनि बुझिँदो रहेछ आजकल । तर, खस भाषा भन्नुस् या पर्वते भाषा या नेपाली भाषा जे भन्नुस् त्यसको उद्गमस्थल सिन्जा नै हो, त्यसका प्रथम भाषी जुम्ली नै हुन् भन्दा अपहेलित होइन गौरवान्वित महसुस गर्नुपर्छ ।
यसरी प्राण दिने अन्न, वाणी दिने भाषा अनि वल्लो घर पल्लो घर, छरछिमेकलाई एकताबद्ध राख्ने सामाजिक/सांस्कृतिक चालचलन, रीतिरिवाज, कुल–परम्पराको नाभिस्थल जुम्लामा के छैन ? जुम्लामा जीवन नौका सञ्चालन गर्ने जे पनि उपलब्ध छ । तर, त्यहाँ धेरै वर्षदेखि राज्यको दृष्टि पुग्न सकेन । अहिले भर्खर–भर्खर कर्णाली राजमार्गले जुम्ला छिचोलेको छ । कृषि र पर्यटनको ढोका खुल्दै छ । सँगै जुम्लाको गौरव राष्ट्रिय परिदृश्यमा व्यापक बन्दै छ । जुम्ला वरिपरिबाटै तपाईं हाम्रो जात, थर जन्मिएको पुस्तैनी लिखतहरूको खोजीमा यताका समाजशास्त्रीहरू जुम्लातिरको बाटो तय गर्दै छन् । हामीमध्ये धेरैको थर जुम्ला र यस आसपासका ठाउँका नामबाट विकसित भएका प्रमाण जुटिरहेका छन् । सबै राम्रा व्यक्ति, वस्तु र स्थान सर्वगुण सम्पन्न भने हुँदैनन् । जुम्ला या कर्णाली प्रदेश पनि यो तथ्यबाट अपवाद छैन । यसका पनि केही कमजोर पक्ष छन् । अध्येता देवकोटाका अनुसार दुर्गमता, जारी प्रथा, अन्धविश्वास आदि जुम्लाका केही कमजोर पक्ष हुन् । यस्तै अन्धविश्वासमा परी केही समयअघि जुम्लाका एक धामीले देउता बस्ने क्रममा १०५ वटा रालो खाइदिएको कुरा देवकोटाले उल्लेख गरेका छन् । त्यति धेरै रालो खाएकै कारण बिरामी भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर अपरेसन गरी निकाल्नुपरेको थियो । (पृ.२१६) साथै पुुस्तकमा २०७३ मंसिर ११ गते जुम्ला खलंगास्थित चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको वर्णनलगायत जुम्लामा बेलाबखत भए/गरेका चर्चित घटनाबारे प्रकाश पारिएको छ । माओवादी द्वन्द्वको पीडालाई समेत समेटेर पुस्तकले जुम्लाको इतिहासलाई वर्तमानसँग जोडेको छ । जुम्लाबारे पुस्तकमा यतिविघ्न सत्य/तथ्य खोजबिन गरेर पनि देवकोटाले आफ्नो कृतिको नाउँ भने कर्णाली दर्पण जुराए । किनकि, जुम्ला त कर्णालीको एउटा सानो हिस्सा मात्र हो । कर्णाली सभ्यताबारे उल्लेख नगरी जुम्ला वरिपरि मात्र केन्द्रित हुँदा अनुसन्धान नुनबिनाको तिउनजस्तो हुने महसुस गरी देवकोटाले कर्णाली भेककै इतिहास कोटयाएका छन् । वर्तमान उतारेका छन् । र, थुप्रै सम्भावना बोकेको कर्णालीको भविष्यतर्फ दृष्टिगोचर गरेका छन् । उनले भन्नेपर्ने कुरामा करङजस्तो आकारमा बग्ने नदीको नामबाट ‘करङ नाली’ भएको र पछि अपभ्रंश भई कर्नाली नाम रहेको उल्लेख गरेका छन् । हुम्लाबाट उत्तर झर्दै गर्दा त्यस भेकमा प्रख्यात बाजा कर्नालको आवाज निकाल्ने भएकाले त्यसैको नाउँबाट कर्नाली भन्न थालिएको कुरा उनले उल्लेख गरेका छन् । ‘करङ नाली’ वा ‘कर्नाली’ भन्नुभन्दा पनि पछिल्लो समय जनजिब्रोमा झुन्डिसकेको कर्णाली शब्द नै उचित ठानी यही शब्दबाट पुस्तकको नाउँ जुराएको दलिल अध्येता देवकोटाले पेस गरेका छन्् ।
कर्णालीका ५ वटै जिल्लाका राजनीतिक दल र आन्दोलनको इतिहास पुस्तकमा लिपिबद्ध गरिएको छ । अनि माओवादी द्वन्द्वले थिचिएको कर्णालीको कथाव्यथा पुस्तकको अर्को उपयोगी सामग्रीको रूपमा रहेको छ । जुम्लालगायत कर्णालीका पाँचै जिल्लाबाट द्वन्द्वका क्रममा कति मारिए, कति बेपत्ता पारिए, कति अपांग भए अनि कति विस्थापित भए त्यसको तथ्यसहितको दस्तावेज पनि हो यो पुस्तक । कर्णालीमा भए/गरेका दुर्घटना र कर्णालीको भोकमरी र खाद्य संस्थानले बाँड्ने चामल अनि त्यसभित्र लुकेको वास्तविकतालाई पुस्तकमा प्रकाश पारिएको छ । जे जसरी भोकमरीको चपेटामा कर्णाली भन्ने स्याल हुइँया चल्छ/चलाइन्छ त्यसमा असहमति जनाउँदै अध्येता देवकोटा लेख्छन्, ‘भोकमरी छैन कर्णालीमा ।’ र, अन्तमा उनी केन्द्र (काठमाडौँ) ले कर्णालीमा भोकमरी मात्रै छ, चामल दियो भने त्यहाँका मानिस जाँड/रक्सी बनाएर सखाप पारिदिन्छन्, त्यहाँ विकासको सम्भावना छैन भनेजस्तो नजरले हेर्ने गरेकोमा दु:खित छन् । किनभने, कर्णालीमा के छैन ? जीवनलाई चाहिने सबै अर्गानिक वस्तु कर्णालीमा छ । खाँचो केवल तिनको पहिचान र प्रयोग कसरी गर्ने भन्नेमा छ ।










