जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका हुन् ।प्रकोपका कारण परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिए ।
विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमा मात्र १५० जनाको ज्यान गएको छ । उक्त क्षेत्र जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित छ ।त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ ।मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् । मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ ।अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ ।
प्रधानमन्त्री आबे बाढी प्रभावित क्षेत्रमा
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार जापानी प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा गएका छन् । बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा प्रधानमन्त्री आबे शुक्रबार पुग्नुभएको अधिकारीहरुले जनाएका छन् ।
उनले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुको बारेमा जानकारी लिएका थिए । उनले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजार भन्दा बढी उद्धारकर्मी खटिरहेका छन् । बाढीले पुर्याएको क्षतिको आर्थिक लेखाजोखा भने भइसकेको छैन ।बाढीका कारण निकै ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आबेले हालै मात्र आफ्नो विदेश भ्रमण रद्द गरेका थिए । उनी गएको बुधबार युरोपका केही देशको सताव्यापी भ्रमणमा जाने पूर्व निर्धारित कार्यक्रम थियो ।



