जापान सरकारले मानव संशाधन विकासका लागि २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ। सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका निम्ति छात्रवृत्ति उपलब्ध गराउन उक्त अनुदान उपयोग गरिनेछ ।

अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास तथा कानूनी नीतिजस्ता विषयमा निजामती सेवाका कर्मचारीले छात्रवृत्ति पाउने छन् । विगत तीन वर्षदेखि जापानले उक्त छात्रवृत्ति प्रदान गर्दै आएको छ । २० जना नेपाली विद्यार्थीको तेस्रो खेप जापानी विश्वविद्यालयमा अध्ययनका निम्ति चयन भइसकेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गरे ।

राजदूत साइगोले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले जापान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउनाका साथै नेपालको सामाजिक–आर्थिक विकासमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सचिव खनालले नेपालको विकास प्रयासमा निरन्तर सहायता प्रदान गरेकामा जापान सरकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा जापानबाट विकास सहयोग अझ बढ्ने विश्वास व्यक्त गरे ।