जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ।चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो।
उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन्।मौसम पूर्वानुमानविद्हरुका अनुसार चर्कंदो तापक्रम घट्ने कुनै संकेत नदेखिएको बताएका छन् ।
चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरुलाई अस्पताल भर्ना गरिएको आकस्मिक सेवाका अधिकारीहरुले बताएका छन्।सोमबार राजधानी टोक्यो नजिकको कुमागाया शहरमा तापक्रम ४१ दशमलब एक डिग्री सेल्सियस मापन गरिएको थियो, जुन जापानमा रेकर्ड गरिएको हालसम्मकै सबैभन्दा उच्च तापक्रम हो।
टोक्योको मध्यवर्ती भागमा पनि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।जापानको मौसम पूर्वानुमान निकायले अगष्टको सुरुसम्म नै तापक्रम ३५ डिग्री सेल्सियस वा त्योभन्दा बढी रहनसक्ने भनी सावधान गराएको छ।



