"एउटा चिट्ठी "

मेरा प्यारा छोराछोरी बेन्जिसा/बृजेस मिठो सम्झना अनि मुटु भरिको माया! तिमिहरुकी मामुको तर्फबाट !!! मैले यो चिट्ठी तिमिहरुको लागि नै लेखेकी हु।यो चिट्ठी तिमिहरुले पढ्न सक्ने हुँदा सायद तिमिहरुलाई यो समाजले "मामु" शब्द प्रती घृणा जगाइसकेको हुनेछ।कि त तिमिहरुलाई मामु भनेर अर्कै पात्रलाई उभ्याई सकेको हुनेछ।हो त्यसैले तिमीहरुले यो चिट्ठी पढ्न पर्छ।अनि बास्तबिकता थाहा पाउनु पर्छ।थाहा छ,मलाई तिमीहरुले मेरो अभावमा बाच्न गाह्रो हुन्छ,र भएको थियो। मैले यति भनिरहदा तिमिहरुलाई रिस उठेको छ हामिलाई छोडेर किन जानू?? हामिलाई माया गरेर हुर्काउने बेलामा किन छोडेर जानू?? माया नै गर्ने भए किन आउनुभएन फर्किएर?? यस्तै कैयौ प्रश्नहरु दौडिरहेका होलान तिमिहरुको प्रश्नहरुको जवाफ अबस्य दिनेछु, सुन=सबैभन्दा पहिले तिमिहरुलाई बालापन याद गराउछु, तिमिहरुको मस्तिष्कमा ताजा गराउछु बितेका केही पल, तिमिहरुको बाबा म अनि तिमिहरु २ जना ,हाम्रो घर अगाडिको आपको रुख आगनको भित्ताको तुलसिको मठ, आगनको डिलमा बस्न राखेको ढिकी तिमिहरुको खेल्ने भाडाकुटी, तिनीहरु सग नै बितेको हो तिमिहरुको बालापन।मलाई पिङ लगाईदिनु भनेर जिद्दी गर्दा नाम्लो गासेर लगाईदिएको पिङ अनि पिङबाट लडेर लागेको चोट ।सम्झ त एकचोटी ।हो त्यस्ता कयौ पल छन जो तिमीहरूको बालापन जोडिएको छ।हो त्यसरी नै बित्दै थिए दिनहरु।तिमिहरुको बाबाले मलाई गालि् गरिरहनु हुन्थ्यो , पिटिरहनु हुन्थ्यो।मेरो शरीरभरि निलडामहरु बोकेर कयौं पटक म पिडा खप्न नसकेर रुदा तिमिहरुले पनि साथ दिएका थियौ।तर त्यो कोमल मन र कलिलो मस्तिष्कले ठम्याउन सक्दैन थियो मेरो पीडालाई केबल साथ दिन्थ्यौ आँसु बगाएर।हो त्यस्ता कयौ पल छन जुन पलहरुले बाध्य बनायो आफ्नै मुटुका टुक्राहरुलाई छोडेर हिंड्न,हो तिमिहरु नै हो मेरा मुटुका टुक्रा।त्यो दिन जुन दिन म तिमीहरूलाई छोडेर आए त्यो दिन मैले २०/२० रुपैया दिएकी थिए, याद छ तिमिहरुलाई त्यो दिन??हो त्यै दिन देखि म तिमीहरूको बाबाको अत्याचार सहन नसकेर घर छोड्न बाध्य भए।मैले पनि तिमीहरूलाई नसम्झेको पल छैन। छोरी ,मैले भनेको कुरा ध्यान दिएर सुन, तिमी पनि छोरी मान्छे हौ।तिमिलाई पनि यो समाजले सिमाना भित्र राख्न खोज्नेछ।तर तिमिले त्यसलाई तोड्नुपर्छ।हो सुन्नुपर्छ सबैको कुरा तर तिम्रो मनले जे भन्छ त्यो गर,।अनि अर्को कुरा तिमिले भाइलाई सधै माया गर्नु,भाइ सग झगडा नगर्नु,, भाई तिमी भन्दा सानो हो,त्यसैले सानोतिनो गल्तिलाई माफ गरिदिनु । मेरो अभाव हुन नदिनु, राम्ररी पढ्नु भाइलाई पनि सिकाउनु,हासेर बाच्नु। अनि छोरा, तिमी पनि राम्ररी पढ्नु,दिदिलाई दुख नदिनु, मैले तिमिलाई मेरो माया कति लाग्छ भनी सोध्दा "आकात दति"भनेका थियौ,,हो म पनि तिमिलाइ आकास भन्द बढी माया गर्थे,गर्छु,अनि गरिरहने छु।मेरो आशीर्वाद सधै तिमिहरुलाई नै छ। अन्त्यमा तिमिहरु मेरो यादमा कहिल्यै आँसु नबगाउनु, हिम्मत दरो बनाएर अघि बढ्नु,अरुको अगाडि कमजोर भएर नहिड्नु,मेरो माया, साथ,अनि आशिर्वाद सधै तिमिहरुलाई छ। तिमीहरूलाई माया गर्ने तिमीहरूकै अभागिनी मामु ///बिमला///