
काठमाडौं, २ माघ । मुलुकमा गणतन्त्र स्थापना भएपछि पहिलोपटक पूर्वराजा ज्ञानेन्द्र शाहले शीतलनिवास छिर्ने अवसर पाउने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा शाहलाई निम्ता दिएपछि उनले यस्तो अवसर पाउने भएका हुन् । पूर्वराजा शाहलाई सोमबार मध्यान्ह १२ बजेका लागि शीतलनिवासमा निम्ता गरिएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह हुँदैछ । पूर्वराष्ट्रपति रामवरण यादवका नातेदार (नाति) अभिशेष यादवसँग जोडिन लागेको वैवाहिक समारोहमा वर्तमान राष्ट्रप्रमुख र दुई पूर्वराष्ट्रप्रमुखहरु एकै ठाउँमा भेट्ने अवसर जुर्न लागेको हो ।
राष्ट्रपतिको निम्ता स्वीकारेमा पूर्वराजा ज्ञानेन्द्रको राष्ट्रपति कार्यालयमा पहिलोपटक नयाँ अवस्थामा पाइला पर्नेछ । पूर्वराजानिकट स्रोतका अनुसार शाहले राष्ट्रपति भण्डारीको निम्तो मान्ने सम्भावना बढी नै छ । पूर्वराज परिवारले वैवाहिकलगायतका समारोहमा आएका निम्तालाई सामान्यतः स्वीकार्ने गरेका छन् ।



