विक्रम पालुङ्वा बालुबाडी -९ झापा
प्रेमिल समय र फूल मायाको विशिष्ट सहभागि म मायाकै सिरानीमा मृदु सपना फूलेछ नखोज्दा नखोज्दै वर्तमान क्यान्भास भित्र मौन अनुहार बेहिसाब गनिएछ लाग्छ, सबै मान्छे सपना जस्तो बिभत्स बिपना बाँच्नुमा जटिलता गुज्रिरहेछ केही छैन- म दृष्टीभ्रममा परेको हुन सक्छु यसको अर्थ- दुनियाँमा के सबै खुशी छन् त? रमाएकै छैनन् पनि त भन्न सकिन्न! हुन सक्छ, सारा आरोह-अवरोह जिन्दगीका भावनाका ग्यालेक्सिहरुमा नजरले पोखिन नजाने पनि फेवा र रुपा यथार्थ जम्न खोजिरहेछु यो शिष्ट मानवबस्तिमा हिँडिएका व्यथाहरु धरतिकै गर्वमा लुकाउन म पागल सेती गहिरिरहेछु
फोसिलका सूक्ष्मताहरुमाझ चट्टानमथि निःशंङ्क झर्ना झरे जस्तो कँहा सहज हुन्छ र जिन्दगी! फेरी- स्फटिक सतहमा रातो माटोको औचित्य खोज्नु पनि त केवल धृष्टता मात्र हुन सक्छ तथापी यसबेला मलाई मेरो अनुभूत सत्य पिडाका सहयात्रिहरुमाझ आफ्नो भिन्न अस्तित्वमा छुट्टै परिभाषा खोज्ने मन छ
हेर्छु पश्चिमका पहाडहरु अँगालोमा आत्माविभोरता साटिरहेछन् पहाडमै अडेसा लागेका ति सुन्दरबस्तिहरु छेकबारहिन आफ्ना आदिम भावहरुमा रमाइरहेछन् उनिहरुको तातो-तातो श्वासको अनुभूत गरिरहेछु म कसो-कसो शिष्ट क्यान्भास भित्र एउटा अशिष्ट बिम्ब बनेर नजानिँदो इर्ष्याभाव उकुस मुकुस हुँदै
वसन्तका मौन आग्रह आरुका फूलहरुमा समाहित हुन्छु म मेरा सम्झानाहरु पैयुँका फूलबनेर मुस्कुराएका छन् हावाका कोमल झोक्काहरुमा पातविहिन रङ्गिन हाँगाहरु निरपेक्ष खुशी बनेर झुलेकाछन् र,म सोच्छु हरेक पटक यसरी नै प्रकृतिका वसन्ती रङ्गहरुमा मान्छेको यौवन बल्झेर मिठो पिडा दुख्छ शायद- पैयुँ फूल्न थाले पछी विधुवा दुलहीका आँखाहरुमा माइती देशका सुमधुर सम्झनाहरु सप्तरङ्गी इन्द्रेणी हास्नेछन् अनायसै झरेका आँसुका रङ्गिन थोपाहरु मेरा सपनाका उत्कृष्ट विपनिरङ्गहरु घोलिएर म भिन्न आस्तत्विक रङ्ग बाँच्न चाहन्छु
हुन सक्छ सफलता-असफलता आफ्नो वशमा नहोला अप्ठ्याराहरुसामु जिन्दगी अझ जटिल बन्ला पिडाका यादहरुमा जिन्दगी शूल बनेर तड्पिएला पिडाका अग्लाइहरुबाट जिन्दगी पहिरो झरीदेला मान्छेकै आँखा र मान्यताहरुको पहाडमा जिन्दगी ठेस लाग्ला र पनि खुशी जोड्नेछु मायावी उत्सव मानेर मेरा आभाका रङ्गिन पङ्क्तिहरुमा










