काठमाडौं — भारतमा सामाजिक सञ्जाल प्रयोगकर्तामाझ एक बालिकाको तस्वीर खुबै चर्चामा रह्यो । तस्वीरमा बालिका आफ्ना पिताको शवनजिक रुँदै गरेको देखिन्छ ।
तस्वीर जति भावुक छ, त्यसको पछाडि रहेको कथा त्यति नै पीडादायक छ । बालिकाको पिताको ढल सफा गर्ने क्रममा मृत्यु भएको थियो ।
तस्वीर सार्वजनिक भएपछि बालिकाको परिवारको सहायताका लागि सामाजिक सञ्जाल खुलेर आयो र हेर्दाहेर्दै २४ लाख भारु जम्मा भयो ।
दिल्ली जल बोर्डको ढल सफाइ गर्दागर्दै ३७ वर्षीय अनिलको मृत्यु भदौ २९ गते भएको थियो । परिवारमाथि यसअघि नै शोक परेको थियो । अनिलका चार महिनाको बच्चाको ६ महिनाअघि मृत्यु भएको थियो ।
अनिल आफ्नी पत्नी रानी र तीन बालबच्चासँग दबरी एक्सटेन्सनमा भाडाको कोठामा बस्थे ।
सामाजिक सञ्जालमा तस्वीर शेयर गर्ने व्यक्तिले परिवारसँग अनिलको अन्तिम संस्कार गर्ने पैसा पनि नभएको लेखेको थियो । पोस्ट देखेर मानिसले लाइक र कमेन्ट मात्र गरेनन्, आर्थिक सहायता पनि दिए । अनिलकी पत्नीको बैंक
खातामा २४ लाख भारु जम्मा भइसकेको छ ।
रानीले सहायता गर्ने मानिसहरूलाई धन्यवाद दिएकी छन् । आएको पैसाले आफ्ना बच्चाहरूलाई शिक्षित गराएर राम्रो जीवन दिलाउने रानीको भनाइ छ ।
अनिलको यो मृत्युले ढल र सेप्टिकट्यांक सफा गर्ने कर्मचारीको सुरक्षाका सम्बन्धमा प्रश्न उठाएको छ । राष्ट्रिय सफाइ कर्मचारी आयोगको आँकडाअनुसार, विगत २५ वर्षमा ६३४ सफाइ कर्मचारीहरूको सफाइका क्रममा मृत्यु भएको छ ।
एजेन्सी



