जंगली हात्तीले मान्छे मार्न थालेपछि झापाको सदरमुकाम भद्रपुरका बासिन्दा असुरक्षित बन्दै गएका छन् । दिन दहाडै जंगली हात्ती गाउँ पसेर मान्छेलाई आक्रमण गर्न थालेपछि भद्रपुरबासी अहिले जंगली हात्तीले आक्रमण गर्ला भन्ने त्रासमा बस्न बाध्य छन् । भद्रपुर २ रंगेडाँडा दक्षिण करेलाचोक बस्ने अन्दाजी १३ बर्षिया बालिका शर्मिला लिम्बु र सोही ठाउँकी ४१ बर्षिया पालमाया सुब्बालाई आइतबार बेलुका जंगली हात्तीले आक्रमण गरि ज्यान लिएपछि भद्रपुरबासी त्रसित बनेका छन् । हात्तीले पछारेर फालिएकी पालमायालाई आइतबार बुलेका नै स्थानीयबासीले मृत अवस्थामा बनमा भेटेका थिए ।
उनीसँगै गएकी बालिका शर्मिला भने बेपत्ता थिइन् । सोमबार बालिका खोज्न बन पसेका स्थानीयबासी र प्रहरीको टोलीले उनको टाउको किचिएको अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक कूलप्रसाद चौधरीले बताए । मृतकका परिवारलाई मंगलबार तत्काल राहतका लागि ५०/५० हजार रुपैयाँ उपलब्ध गराइएको जिल्ला बन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जानकारी दिए । स्थानीयबासीलाई सजग हुन र बन क्षेत्रभित्र नजान भनिएको उनले बताए । उनले भने, ‘सर्वसाधारण आफैंले बुझ्नु पर्ने हो । जंगली हात्ती हिँडडुल गर्ने ठाउँ भनेको जंगल वा आसपासका क्षेत्र हो ।
तर त्यतै जोखिम मोलेर जाइदिन्छन् ।’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख शैलेस थापा क्षेत्रीले मानिसहरुलाई जंगल क्षेत्रमा नजान अनुरोध गरिएको बताए । उनले घटना भएपछि तत्काल प्रहरी घटनास्थलमा प्रहरी परिचालन गरिएको बताए । जंगली हात्तीसंग मानिसको जम्काभेट आकस्मिक हुने भएकाले पनि सतर्क रहन सर्वसाधारणलाई उनले आग्रह गरेका छन् ।



