एजेन्सी । १ सय ८८ जना यात्रु बोकेको लायन एयरको यात्रुवाहक विमान इन्डोनेशियाको जकार्ताबाट उडेको केही मिनेटमानै सम्द्रमा खसेको छ । हाल सम्म विमान र यात्रुको अवस्थाबारे थाहा हुन नसकिरहेको अधिकारीहरुले जनाएका छन्। उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।
नियमित उडान अन्तर्गत उडान नं जेटी ६१० को सो विमान जकार्ताबाट पाङ्काल पिनाङका लागि उडेको थियो। अधिकारीहरूका अनुसार उडेको केही मिनेटपछि विमान सम्पर्क विच्छेद भएको थियो।
राष्ट्रिय खोज तथा उद्धार निकायका एकजना प्रवक्ता युसुफ लतिफले समाचार संस्था एएफपीलाई बताए अनुसार विमान ३० देखि ४० मिटरको गहिराइमा खसेको छ। तर अवस्था बारे अझै पत्ता लाग्न सकिरहेको छैन।
परिचयपत्र, चालक अनुमतिपत्र लगायत यात्रुका व्यक्तिगत सरसामान पानीमा भेटिएको खोज तथा उद्धार निकायका अधिकारीहरूले ट्विटरमा उल्लेख गरेको बीबीसीले जनाएको छ।
विमान स्थानीय समय अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा जकार्ताबाट उडेको थियो। पाङ्काल पिनाङस्थित देपाती अमीर विमानस्थलमा एक घण्टा पछि त्यो पुग्नुपर्ने थियो। तर उडेको १३ मिनेटपछि सो विमानसँग सम्पर्क विच्छेद भयो।बीबीसीका अनुसार विमानमा इन्डोनेशियाली अर्थ मन्त्रालयका कम्तीमा २० जना कर्मचारी छन् ।



