भद्रपुर । झापाको देउनिया खोलामा डुबेर एक जनाको सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर ७ स्थित अञ्जलीमोड निवासी अन्दाजी २४ वर्षीय कमल दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए।

दाहाल ट्याक्टरमा काम गर्ने कामदार हुन्। प्रहरीका अनुसार भद्रपुर–हल्दिवारी जोड्ने देउनिया खोलामा ट्याक्टरमा बालुवा लोड गर्न गएका दाहाल दिसा गर्न भनी खोला किनारामा गएको ट्याक्टर चालकले प्रहरीलाई बताएका छन्। दिसा गर्न गएका दाहाल नफर्किएपछि उनको शव खोलामा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक चौधरीले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी निरीक्षक चौधरीले भने, ‘मृतक दाहाल छोपुवा रोगका बिरामीबाट ग्रसित भएकाले खोलामा डुबेर मृत्यु भएको हुनसक्छ।’ उनको शव हेर्दा कहिँकतै चोट नलागेकोले पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको पनि बताए।