बीबीसी
संसारभरी यौन उत्पीडनविरुद्ध आवाज उठिरहेको छ । मिटू अभियानमार्फत थुप्रै महिलाले सोसल मिडियामा आफूमाथि भएको दुर्व्यवहार छताछुल्ला पारिरहेका छन् ।
यसैबीच ह्यूमन राइट्स वाच (एचआरडब्ल्यू) को एक रिपोर्ट अनुसार उत्तर कोरियाली अधिकारी कुनै डरबिना महिलामाथि यौन हिंसा गर्छन् ।
रिपोर्टका भन्छ, ‘यहाँ यौन उत्पीडन यति साधारण छ कि यो सामान्य जीवनको हिस्साजस्तै बनेको छ ।’
यो रिपोर्ट देश छोडिसकेका ६२ उत्तर कोरियाली जनतासँगको कुराकानीपश्चात् तयार गरिएको हो । उनीहरुले आफूमाथि भएको बलात्कार र यौन उत्पीडनबारे सबिस्तार बताएका छन् ।
एचआरडब्ल्यूका अनुसार यो रिपोर्टले उत्तर कोरियामा हुने गरेको यौन उत्पीडनको मनोमानी र त्यहाँको लुकेको संस्कृति उजागर गरेको छ । यसमा विशेषगरी पुरुषद्वारा महिलामाथि गरिएको यौन उत्पीडन समावेश छ ।
४० वर्षकी एक पूर्व व्यापारी ओ जंग–हीले रिपोर्टमा बताएकी छिन्, ‘उनीहरु हामीलाई सेक्स टोयको रुपमा हेर्दथे । हामी उनीहरुको दयामा निर्भर थियौं । कहिले काँही राती यत्तिकै पनि रोइरहन मन लाग्थ्यो ।’
संसारबाट अलग्गिएको उत्तर कोरियाजस्तो देशबाट यस्ता जानकारी प्राप्त गर्नु निकै मुश्किल छ र त्यहाँबाट यस्ता रिपोर्ट निकै कम आउँछन् ।
मेरो जीवन उनीहरुको हातमा थियोः
एचआरडब्ल्यूका अनुसार यहाँ यौन उत्पीडन यति साधारण भएको छ कि महिलालाई लाग्दैनथ्यो कि यो असामान्य हो । कति महिलाले यसलाई दैनिक जीवनको हिस्सा मान्दै स्विकार गरेको जानकारी दिए ।
रिपोर्ट भन्छ, ‘यौन शिक्षाको कमी र शक्तिको गलत प्रयोग गर्नु यो मानसिकताको कारण हो । यौन उत्पीडन गर्ने मानिसहरुको सूचीमा उच्च पदाधिकारी, जेलका सुरक्षाकर्मी, पुलिस र सैनिक समावेश छन् । ’
अन्तर्वार्ताको क्रममा महिलाले बताए, ‘जब कोही अधिकारीले महिलालाई चुनेको खण्डमा उनीहरुको कुरा मान्नुबाहेक महिलासँग कुनै विकल्प बच्दैनथ्यो ।’
यस्तै एक महिलामाथि भएको थियो । उनलाई उत्तर कोरिया छाड्ने बेला पक्राउ गरिएको थियो र उनलाई पुलिस अधिकारीले सोधपुछ गरेका थिए ।
पार्क युंग–ही नामकी यी महिलाले भनिन्, ‘मलाई उनीहरुले निकै नजिक बसाए । उनीहरुले हरेक पटक मेरो खुट्टाको बीचमा छुन्थे । मेरो जीवन उनीहरुको हातमा थियो त्यसकारण मैले त्यो सबैकुरा गरें जुन उनीहरु चाहन्थे । म योबाहेक अरु के नै गर्न सक्थें र ?’
अब ह्यूमन राइट्स वाचले उत्तर कोरियासँग ‘यौनहिंसाको समस्यामा ध्यान दिन’ र यसलाई एक अपराधको रुपमा लिन आग्रह गरेको छ ।
सन् २०१४ को यूएन रिपोर्टले उत्तर कोरियाली सरकारद्वारा व्यवस्थित र व्यापक स्तरमा मानवाधिकार उल्लंघन गरिएको बताएको छ ।
जेल र हिरासतमा जबर्जस्ती गर्भपतन, बलात्कार र यौनहिंसा गरिने रिपोर्टले बताएको थियो ।



