उनी विश्वकै सबैभन्दा ठूलो कर्पोरेट सहर न्यूयोर्कमा जन्मिइन्। २० वर्षको पुग्दा नपुग्दै ‘धन’ र ‘मानवीयता’ बीचको गहिरो अन्तर महसुस गर्न थालेपछि पीडाको डिग्री बढ्न थाल्यो।

त्यो रोमाञ्चक उमेरमा उनी बाल साहित्यमा काम गरिरहेकी थिइन्। तर राजनीतिमा होमिइन्।

‘यसको एउटै कारण छ राजनीति निष्ठावान र दृढ भए यी दुर्इ बीचको विभाजन कम पार्न सकिन्छ, परिवर्तन ल्याउन सकिन्छ’, अलेक्जेन्ड्रिया ओकासियो कोर्तेज भन्छिन्।

अमेरिकामा सोमबार भएको निर्वाचन परिणाम आउँदा न्यूयोर्क निवासी २९ वर्षे यी युवतीले नयाँ इतिहास रचिन्। २२९ वर्षको इतिहास बोकेको अमेरिकी कंग्रेसमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी उनी सबैभन्दा कान्छी निर्वाचित सांसद भएकी छन्।

‘मैले इतिहास रच्नुको अर्थ मैले पैसा कमाएँ भन्ने होइन। राजधानी वासिङ्टन डिसीमा अपार्टमेन्ट भाडामा लिन समेत मसँग पैसा छैन’, विजयी भइसकेपछि न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेकी छन्।

अलेक्जेन्ड्रिया ओकासियो कोर्तेज एक वर्ष अघिसम्म न्यूयोर्क म्यानहटनको एउटा पबमा बार टेन्डरको काम गर्थिन्। दैनिक जीविकाका लागि काम गर्नुपर्ने पृष्ठभूमिबाट नीति निर्माता बनेकी यी युवती यतिबेला आफ्नो जीवनको नयाँ यात्रा तय गर्दैछिन्।

बार टेन्डरका फरक मुद्दा
नोभेम्बर पहिलो साता मतदानको मिति नजिक आइरहँदा नेताहरूका वैभवशाली चुनावी प्रचार र चुनावी पार्टीहरूले तीव्रता पाइरहेका थिए। सत्तारूढ रिपब्लिकन पार्टीका उम्मेदवारले आफ्नो प्रचारलार्इ झन् तीव्र पारेका थिए। अलेक्जेन्ड्रियाको चुनावी प्रचार प्रतिस्पर्धीको तुलनामा भव्य थिएन।

तर न्यूयोर्क पोष्टसहित स्थानीय मिडियामा केही फरक कभरेजहरू आए। तिनको शीर्षक हुन्थ्यो– ‘अलेक्जेन्ड्रिया न्यूयोर्कमै आफ्नी आमासँग एक बेडरूमको अपार्टमेन्टमा बस्छिन्’, ‘अलेक्जेन्ड्रिया एक जना बार टेन्डर हुन् जसको फोटो अहिले पनि रेष्टुराँको वेबसाइटमा छ’, आदि। चुनाव नजिक आइरहँदा उनले बारमा १८ घन्टासम्म काम गरेको संघर्षको कथा अमेरिकी सञ्चार माध्यममा आए।

अमेरिकामा ‘सबैको पहुँचमा आवास’ एउटा ठूलो राजनीतिक मुद्दा हो। हार्डवर्ड हाउसले गरेको एउटा अध्ययनले अमेरिकामा ३ करोड ८० लाख परिवार हाउजिङका लागि पैसा जुटाउन सक्ने अवस्थामा नभएको देखाएको छ। अलेक्जेन्ड्रिया एउटा त्यस्तो अभियानकी उत्पादन हुन् जसले आवासमाथिको पहुँच समान हुनुपर्छ भनेर लामो समयदेखि आवाज उठाउँदै आएको छ। चुनावी अभियानमा उनले चिकित्सा र आवासलार्इ मुख्य मुद्दा बनाइन्।

निर्वाचन परिणामसँगै धनी र गरिबबीचको विभेद कम गर्ने उनको मुद्दालार्इ दुर्इ तिहार्इ बढी न्यूयोर्कबासीले अनुमोदन गरेका छन्। उनले ७८ प्रतिशत मतका साथ गर्विलो विजयी हात पारिन्।

हेभिवेटलार्इ उछिनेर उम्मेदवार
अलेक्जेन्ड्रियाका लागि विपक्षी रिपब्लिकन पार्टीका उम्मेदवार हराउनभन्दा कठिन आफु उम्मेदवार बन्न थियो। डेमोक्र्याटले सधैँ जित्दै आएको न्यूयोर्कको ब्रोन्क्स एन्ड क्विन्स निर्वाचन क्षोत्रबाट जोए क्रोउलीले प्रतिनिधित्व गर्दै आएका थिए।

जोए सदनमा डेमोक्रेटिक पार्टीका चौथो नम्बरका नेता हुन्। जसलार्इ डेमोक्रेटिक पार्टीमा संसदीय दलकी नेता नेन्सी पोलिसीलार्इ प्रतिस्थापन गर्ने नेताको रूपमा हेरिन्थ्यो। जोएलार्इ सो निर्वाचन क्षेत्रमा सन् २००४ यता कसैले पनि चुनौती दिने आँट गर्न सकेका थिएनन्।

गत जुलार्इमा प्राइमरी चुनाव भइरहँदा न्यूयोर्क सहरमा एउटा भिडियो भाइरल भयो। ‘मजस्तो महिला सायद चुनाव उठ्नु हुँदैन होला। म कुनै धनी र शक्तिशाली परिवारमा जन्मिइनँ’ भनाइबाट सुरू हुने सो भिडियोले न्यूयोर्क बाहिर समेत निकै चर्चा पायो।

चुनावलाई ‘नागरिक भर्सेज पैसा’ का रुपमा अथ्र्याउँदै उनले फरक अभियान चलाइन। उनले भनिन्, ‘म एक जना शिक्षक, संगठक र न्यूयोर्कको कामदार वर्गको हुँ।’

जसले खासगरी कामदार वर्गका मतदातालाई भित्रैसम्म छोयो।

भिडियाे:

 

हुन त जोए पहिलो पटक निर्वाचित हुँदा अलेक्जेन्ड्रिया जन्मेकी पनि थिइनन्। तर गत जुलार्इको प्राइमरी चुनावको परिणाम धेरैलार्इ आश्चार्य पार्ने किसिमको थियो। अलेक्जेन्ड्रियाले ५८ प्रतिशत मत ल्याउँदै जोएलार्इ पराजित गरिदिइन्।अलेक्जेन्ड्रियाको जीवनमा त्यो नै सबैभन्दा महत्वपूर्ण घटना थियो जसले उनलार्इ मूलधारको अमेरिकी राजनीतिमा स्थापित गराइदियो।

आफ्नो सामान्य परिवारिक पृष्ठभूमि राजनीतिका लागि ‘फिट छैन कि’ भन्दै उनले सावधानीपूर्वक राजनीतिक मुद्दा अघि सारेकी थिइन्। उनका सबै जसो मुद्दाहरू गरिब र तल्लो वर्ग लक्षित छन्। ‘सबैका लागि चिकित्सा’, ‘आवास मानव अधिकारै हो’, ‘शान्तिपूर्ण अर्थतन्त्र’, जस्ता मु्द्दा उनले जनता समक्ष लगिन्। त्यसैले त उनलार्इ ‘डेमोक्रेटिक सोसलिष्ट’ भन्न थालिएको छ।

डेमोक्रेटिक पार्टीभित्रको समाजवादी धारले अमेरिकाको बढ्दो असमानतालाई कम गर्ने विषयलाई राजनीतिक मुद्दा बनाउँदै आएको छ। त्यो धारको नेतृत्व सिनेटर बर्नी स्यान्डर्सले गर्दै आएका छन्।

पछिल्लो राष्ट्रपति निर्वाचनमा अलेक्जेन्ड्रिया पार्टीभित्र भएको आन्तरिक प्रतिस्पर्धामा स्यान्डर्सको अभियानकर्ता थिइन्। २ वर्षअघि राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बन्नका लागि सिनेटर स्यान्डर्स प्रतिस्पर्धामा थिए। जसले हिलारी क्लिन्टनलाई अमेरिकी राष्ट्रपति उम्मेदवार बन्ने आन्तरिक प्रतिस्पर्धामा आछुआछु पारेका थिए।

हुन त युवाका लागि राजनीति अमेरिकामा रूचिको विषयमा होइन। तर पछिल्लो समय अमेरिकाभित्र बढ्दो असमानतालार्इ मुद्दा बनाएका कारण युवाहरू राजनीतिमा आकर्षित भइरहेका छन्। अलेक्जेन्ड्रिया ओकासियो कोर्तेजको राजनीतिक यात्रा त्यही असमानताको परिणाम मानिएको छ।

पिताको निधनपछि आमा र उनले न्यूयोर्कका ठूल्ठूला कर्पोरेट हाउस तलका सडकमा झेलेको गरिबी हो उनको आत्मकथा। त्यही आमकथालार्इ न्यूयोर्कबासीले अनुमोदन गर्दै अलेजक्जेन्ड्रियालार्इ हाउस अफ रिप्रिजेन्टेटिभ पठाइदिएका छन्।

अलेजक्जेन्ड्रियाले ३ जनवरी २०१९ देखि आधिकारिक रूपमा सांसदको भूमिका निर्वाह गर्दैछिन्, खासगरी गरिब र समान अधिकारका लागि संघर्षरत मानिसका मुद्दा बोकेर। (न्यूयोर्क टाइम्सको सहयोगमा)।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah