ललितपुर । प्रकाश दाहाल पत्नी सृजना त्रिपाठीले प्रकाशको ‘स्मृति पुस्तक’मा आफ्नो नाम नराखिएको प्रति आपत्ति जनाएकी छन् । प्रकाशको प्रथम स्मृति दिवसको अवसर पारेर हिजो खुमलटारस्थित उनकै निवासमा लोकार्पण गरिएको ‘स्मृति पुस्तक’मा आफ्नो नाम नभेट्दा आलो घाउमा नुन छर्केको आभाष भएको सृजनाले बताइन् ।
पुस्तकको अन्तिम पृष्ठमा प्रकाश दाहाल बारे संक्षिप्त परिचयमा आफूमाथि सौता आएकी बीना मगरको नाम पत्नीको नाममा उल्लेख गरेर आफ्नो नाम नभेटेपछि आफू निकै दुःखी भएको उनले बताइन् ।
महिला खबरसंगको कुराकानीमा सृजनाले भनिन्, ‘मैले जन्माएको छोरा हुने, मचाहिँ नहुने । कस्तो अचम्म ।’ प्रकाशको संक्षिप्त परिचयमा सृजनातर्फका छोरा प्रसिद्धको नाम भने उल्लेख छ । ‘छोरालाई स्वीकार गर्नेले मलाई अस्विकार गर्नुको कारण भने बुझ्न् सकिन ।’ उनले थपिन्, ‘भोली बिहानै ससुरालाई भेट्छु र यो प्रश्न सोध्छु ।’
‘जीवन साथी गुमाउदाको पीडा त कसरी सेलाउनु ? तर त्यही पीडामा नुनचुक छर्किनेहरु देखेर मन कुडिएको छ ।’ सृजनाले थपिन्, ‘सायद अहिलेसम्म ममाथि भएका अन्याय र प्रहारहरु विरुद्ध आवाज नउठाउँदा आज यतिसम्म देख्नुपरेको हो । अब म बोल्छु, चुप बस्दिन ।’ –महिला खबर–



