एजेन्सी- दिल्लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालको आँखामा अज्ञात समूहले खोर्सानीको धुलो फ्‍याँकि दिएका छन्। भारतको राजधानी दिल्लीस्थित मुख्‍यमन्त्रीको सचिवालयमा मंगलबार खोर्सानीको धुलो फ्‍याँकेर हिडेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार मुख्‍यमन्त्री केजरीवालको च्‍याम्बरको ठीक बाहिर अज्ञात व्‍यक्तिले खुर्सानीको धुलो फ्‍याकेको बताइएको छ। साथै सचिवालयले यसबारे पत्रकार सम्‍मेलनको तयारी समेत गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिल्लीमा मुख्‍यमन्त्रीमाथि जसले खुर्सानीको धुलो फ्‍याँकेको हो, उसको नाम अनिल शर्मा रहेको सचिवालयले बताएको छ। शर्मा दिल्लीकै बासिन्दा हुन। उनलाई प्रहरीले पक्राउ गरी आइपी स्टेटको थानामा लगिएको छ।

दिउँसो २: १० बजे खाना खान जान लागेका मुख्‍यमन्त्री केजरीवालको आँखामा शर्माले धुलो फ्‍याँकेका थिए। राज्‍यको मुख्‍यमन्त्रीमाथि हमला भएकोप्रति भारतीय जनता पार्टीले भर्त्सना गरेको छ। विजेपीका नेता बिजेन्द्र गुप्ताले भनेका छन्, ‘ लोकतन्त्रमा हिंसाको कुनै पनि स्थान हुँदैन। जसले गरेको भए पनि ऊविरुद्ध कारबाही हुनुपर्छ।’

यस्तै आम आदमी पार्टीका सांसद अलका लाम्बले यो घटना सरासर सुनियोजित र षडयन्त्रपूर्वक रचिएको आरोप लगाउँदै दोषीमाथि शसक्त कारबाहीको माग गरेका छन्।

उनले भनेका छन्, ‘राजधानीको मुख्‍यमन्त्रीको सचिवालय सुरक्षित छैन।के यो गम्भीर विषय होइन? षडयन्त्रकारीहरुलाई कारबाही हुनैपर्छ।’ आम आदमीका अर्का बागी सांसद कपिल मिश्राले पनि मुख्‍यमन्त्री केजरीवालमाथि आक्रमणको प्रयास हुनु निन्दनीय भएको बताएका छन्।