काठमाडौं, ५ मंसिर । सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भए पछि दुहबीमा तनाव सिर्जना भएको छ । स्थानियले हत्यारालाई पक्राउ गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । विराटनगरको इटहरी सडक खण्डमा मृतकको शव सहित प्रदर्शन गरेका उनीहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् ।
हत्यारालाई २४ घण्टा भित्र सार्वजनिक गर्न माग गर्दै सडकमा उत्रिएकाहरुले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने मागसमेत गरेका छन् । स्थानीयले हुसेनको शवलाई गाडीमा राखेर सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा आवागमन बन्द भएको छ ।

दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर हुसेनको बुधबार विहान साढे ६ बजे गोली हानी हत्या भएको थियो । मनिङ्गवाक गरेर घर फर्कदै गरेका उनलाई मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा गोली हानेका हुन् । गोली लागी घाइते भएका उनको विराटनगरको न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् ।स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ ।

मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समुदायका अगुवाले चिन्ता व्यक्त गरेका छन् । यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको बताइँदै आए पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।




