बाजुरा । गत शुक्रवार जिल्लाको तोलि स्वास्थ्य चौकीमा स्थानीय सुन्तला साउदलाई सुत्केरी गराउनका लागि आफन्तले स्वास्थ्य चौकी पुर्‍याए । तर, त्यहाँ पुरुष स्वास्थ्यकर्मी मात्रै थिए । सुत्केरी व्यथाले च्यापिसकेकोले अन्त जाने अवस्था पनि थिएन । पुरुष स्वास्थ्यकर्मीले नै उनको सुत्केरी गराए ।

पुरुष स्वास्थ्यकर्मी मात्र भएकाले सुन्तलाले संकोच मानेको उनका श्रीमान् बल बहादुर साउद बताउँछन् । ‘लाज मानेर पनि के गर्नु ? बाध्य भएर सेवा त लिनै परयो,’ सुन्तला भन्छिन् । सुन्तलालाई अहेब सुरेश चौधरीले सुत्केरी गराएका थिए ।

सुत्केरी सेवा लिन स्वास्थ्य चौकी पुगेकी तोलिकी कलु साउद पनि बाध्यताले पुरुष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउनुपरेको बताउँछिन् । उनलाई स्वास्थ्य चौकीका ईन्चार्ज बीर बहादुर अयडिले सेवा दिएका थिए । यसैगरि, तोलिकै काली साउद र निर्मला साउदले पनि पुरुष स्वास्थ्यकर्मीबाटै सुत्केरी गराएका थिए ।

जिल्लाको तोलि स्वास्थ्य चौकीमा महिला स्वास्थ्यकर्मी उपस्थित नहुँदा पुरुष स्वास्थ्यकर्मीले सुत्केरी सेवा दिने गरेका छन् । स्वास्थ्य चौकीमा दुई महिला स्वास्थ्यकर्मी कार्यरत भएपनि दुवैजना बिदामा बसेकोले बाध्य भएर पुरुषले सेवा दिनुपरेको ईन्चार्ज अयडि बताउँछन् ।

महिला स्वास्थ्यकर्मी कहिले बिदामा बस्ने कहिले उपस्थित नहुने भएकाले बिरामीको उपचारमा समस्या भएको उनको भनाई छ । उनका अनुसार महिला स्वास्थ्यकर्मी नहुँदा खासगरि विभिन्न समस्या लिएर आउने महिला र गर्भवती महिलाको नियमित जाँच प्रभावित भएको छ । ‘पुरुष स्वास्थ्यकर्मीसँग महिलाले खुलेर रोगको बारेमा भन्न नसक्ने भएकाले उपचारमा समस्या भइरहेको छ,’ इन्चार्ज अयडि बताउँछन् ।

जिल्ला स्वास्थ्य प्रमुख मोहन नाथ भने महिला स्वास्थ्यकर्मी बिदामा बसेपनि चौकीले व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘दुवैजना बिदामा बस्दा समस्या भएको रहेछ, तर यसको व्यवस्थापन स्वास्थ्य चौकीले नै गर्ने हो,’ उनी भन्छन् । प्रसुति केन्द्रमा महिला स्वास्थ्यकर्मी अनिवार्य हुनु पर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय