यातायात व्यवस्था विभागले गत शुक्रबार सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम खुलायो। पुर्वनिर्धारित समय अनुसार विहान १० बजे आवेदन खुलाइए पनि सेवाग्राहीले फारम भर्न भने पाएनन्। धेरै संख्याले एकैपटक साइट खोलेको कारण विभागको साइट नै क्र्यास भएको प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले बताए।

साइट क्र्यास भएको ५ दिन बित्दासम्म सेवाग्राहीले आवेदन दिन पाएका छैनन्। यो बीचमा देशभर करिव २ हजार जनाले फारम भरेको र उनीहरु मध्ये केहीको विवरण गलत आएको उपाध्यायले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभागले यो समस्या हल गर्न प्राविधिक टोली खटाइरहेको छ। बुधवार राति वा बिहिबार बिहानसम्म समस्या हल हुने विभागको दावी छ। यो समस्या आएपछि अस्थायी रुपमा विभागले आफ्नो फेसबुक पेज ‘हेलो यातायात विभाग’ मार्फत फारम भर्ने प्रयास समेत गर्यो। तर त्यो पनि सफल हुन सकेन।

‘हाम्रो ब्याक अप नपुगेर त्यस्तो समस्या आएको हो, प्राविधिक टोलीले आज बेलुका वा भोलि बिहान सम्म बन्ने जानकारी गराएको छ’ उपाध्यायले  भने। त्यसैगरी विभागको साइटको ‘होस्टिङ’ परिवर्तन गर्न लागिएकाले पनि समस्या निम्त्याएको उनले बताए।

‘पहिले साइटको ‘अमेरिका बेस्ड होस्टिङ’ थियो। अहिले त्यसलाई राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सार्ने काम भइरहेको छ, त्यसले गर्दा पनि केही समस्या आएको हो’ उनले भने। सवारी चालक अनुमति पत्रको आवेदन दसैँ अघिदेखि बन्द छ। विभागले छठ पछि खोल्ने भने पनि हालसम्म नखुल्दा हजारौ सेवाग्राही मारमा परेका छन्। सेतोपाटी