२३ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य झलनाथ खनालले पार्टी नियमसंगत रुपमा नचलाएको भन्दै शीर्ष नेतृत्वको कडा आलोचना गरेको छन् । नेता खनालले मंगलबार काठमाण्डुको बानेश्वरमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा पार्टीलाई नियमसंगत रुपमा चलाउनका लागि यसो गरिएको बताए । उनले पार्टीलाई शीर्ष नेतृत्वले विधान र नियमभन्दा बाहिरबाट चलाइरहेको आरोप समेत लगाए ।

‘पार्टी गतिहीन भयो, पार्टीलाई गतिमा ल्याउनका लागि सानो तहका नेताहरुले यो पहल गरेका हौँ’, नेता खनालले भने, ‘पार्टी गतिमा नहिँड्ने हो भने सकिन्छ । पार्टीलाई सकिनबाट जोगाउनुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता खनालले भने, ‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’

खनालले थपे, ‘उसो भए महन्थको पार्टी र नेकपामा के फरक भयो ? कम्युनिस्ट पार्टी भनेको आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी पनि हो, राजनीतिक पार्टी मात्र होइन ।’

आफूहरुले बैंठक बहिस्कार गरेपछि त्यसले पार्टीमा तरंग सिर्जना गरेको उनको दावी थियो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक निर्धारित समयमा सुरु नभएपछि खनालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका थिए ।

चार नेताले बैठक बहिस्कार गरे पनि पार्टीको सचिवालयको बैठकले यही मंसिर २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।